सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट बहिरङ्ग सेवासमेत प्रवाह गर्नुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले असन्तुष्टि जनाएको छ ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै ७ भाद्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) प्रवाह गर्नुपर्ने र सो को लागि समन्वय, प्रचारप्रसार र अनुगमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गरेको पत्राचारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति असन्तुष्टि जनाएको हो ।
संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आरामका लागि हप्ताको २ दिन बिदा दिने अतर्राष्ट्रिय प्रचलन रहिआएको छ । हरेक स्वास्थ्य संस्थाहरूमा बिदाका दिनहरूमा जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाहरू सुचारु रहने कुरा सर्वविदितै छ । यसका बाबजुद स्वास्थ्यकर्मीहरूलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरङ्ग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरूमा शारीरिक तथा मानसिक तनाव बढेर बर्न आउट हुने तथा स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरूबाट पुष्टि भइसकेको छ ।’
त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरङ्ग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय अविलम्ब फिर्ता लिन संघले जोडदार माग गरेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।