logo-img

अमेरिकाको मेरिल्यान्डमा नेपथ्यसँगै झुमे दर्शक
फोटोहरु: दिपित राज / नेपालय

आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक अमेरिकी थिइन्, फलेसिया डनल्याप ।

‘यस हलमा आजसम्मकै उत्कृष्टमध्येको शो अनुभव गरेँ,’ त्यस हलका मनोरञ्जन तथा प्रोडक्सन महाप्रबन्धक फलेसिया भनिरहेकी थिइन्, ‘प्रोडक्सन र पफर्मेन्सका हिसाबले चुस्त, गजबको प्रस्तुति !’

दर्शकमा उत्पन्न ऊर्जाकै आधारबाट पनि यसको विशिष्टता स्पष्टै झल्किएको उनको प्रतिक्रिया थियो । ‘म ड्युटीमै भए पनि दर्शकका रूपमा समेत रमाइरहेँ,’ कार्यक्रममा आफ्नो मोबाइलमा कैद गरेका भिडियोहरू देखाउँदै उनले भनिन् । 

निर्धारित समयअनुसारै बेलुकी ठीक ८ बजे कार्यक्रम सुरु भएसँगै नीलो जिन्स पहिरेका अमृत गुरुङ देखापरे र दर्शकतर्फ झुकेर अभिवादन गरे । ड्रमसेटको ‘छ्याङ्ङ’ आवाजसँगै दुवै हात दर्शकतर्फ झट्कारे । यतिन्जेल हलमा भरिएका दर्शकमाझ व्यापक उत्साह र हलचल सुरु भइसकेको थियो । त्यही उत्साहलाई समात्दै उनले पहिलो गीत सुनाए –

‘कोशीको पानी यो जिन्दगानी
सललल जाइजाने हौ हजुर
आमाको कोखमा बास मात्र लिएँ नि
कुन देशको मरन हौ हजुर’

त्यसपछि ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ गाएपछि अमृतले दर्शकसँग छोटो भलाकुसारीको क्रम सुरु गरे । कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो । ती सबको बीचबीचमा अमृतले दर्शकसँग दोहोरो संवाद पनि जारी राखेका थिए ।



सबै स्थानमा जस्तै यहाँ पनि अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए ।



कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे ।

यसरी आएका दर्शक अनेक किसिमका समूहमा आबद्ध थिए । कोही साथीसँग मिलेर आएका थिए, कोही आफ्ना जोडीका साथमा उपस्थित थिए भने कोही आफ्ना अभिभावक र केटाकेटीसहित सपरिवार आएका पनि उत्तिकै भेटिन्थे ।

त्यस्तै समूहमध्ये एक थियो भर्जिनियामा केटाकेटीलाई नेपाली भाषा, संस्कृति र सम्पदा पढाउन ‘पाठशाला’ सञ्चालन गरिरहेका स्वयंसेवी शिक्षकको जमात । वन्दना, सम्झना, सजना, राज र राजेशलगायतको त्यो समूह सुरुदेखि रमाइरहेको देखिन्थ्यो ।

‘नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कृति सिकून् भन्ने अमृत दाइको चाहनासँग हाम्रो मिसन ठ्याक्कै मिलेको पायौँ,’ उनीहरूले भने, ‘हाम्रो उद्देश्य पनि आफ्नो जरालाई जोगाउने र भविष्यलाई उज्ज्वल बनाउने नै हो ।’

नेपथ्यको कन्सर्टबाट पनि उनीहरू उत्तिकै रमाएको प्रतिक्रिया दिइरहेका थिए ।

‘यसअघि थुप्रै नेपाली कन्सर्ट हेरेको भए पनि कार्यक्रमको गुणस्तर र समयको इज्जत गर्ने मामिलामा नेपथ्य सबैभन्दा माथि पाइयो,’ उनीहरूले थपे, ‘यसका लागि ब्यान्ड र आयोजकलाई धन्यवाद छ ।’

कन्सर्ट सकिएपछि पनि केहीबेरसम्मै आयोजना स्थलमा रमाएका दर्शकको चहलपहल देखिन्थ्यो । त्यसैमध्ये एक थिए, काठमाडौँ छँदा न्युरोडको विशालबजारमा पसल चलाउने कमल पारख ।

‘पूरा जीवनै ढाकिने गरी हामी यो ब्यान्डसँगै हुर्कियौँ, यो ब्यान्डसँगै आनन्द लियौँ र अहिले पनि यो ब्यान्डसँगै रमाइरहेका छौँ,’ कमलले भने ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘आयोजकका रूपमा मेरो जीवनकै यो सबैभन्दा बेस्ट शो भयो,’ आयोजक समूहका अभिजित राईले भने, ‘म आफैँ पनि दर्शकमै मिसिएर कन्सर्टभरि नाचिरहेको थिएँ । कतिपय बेला त खुसीले आँसु थाम्न पनि सकिनँ ।’

‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा शरीरमा जताततै काँडा उम्रेजस्तो महसुस भएको उनको प्रतिक्रिया थियो ।

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला छ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ । ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ तारिख शनिबारका दिन नेपथ्यको कन्सर्ट आयोजना हुनेछ ।

अबको सातौँ कन्सर्टसँगै यसपटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ । 

  • प्रकाशित मिति : भदौ १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया