logo-img

वर्तमान सरकार मुलुकका लागि ब्रह्मास्त्र हाे, असफल हुने छुट छैन : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुई ठूला दलले लोकप्रियताका लागि मात्रै काम नगरी कठोर निर्णय गर्नुपर्ने बताएका छन् । दुई ठूला दल मिलेर बनेको यो सरकार असफल भएमा देश नै असफल हुने मन्त्री पाण्डे​काे दाबी थियाे । 

मंगलबार प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि क्याम्पस एकाइले काठमाडाैंमा आयोजना गरेको 'सेवा निवृत्त प्राध्यापकहरूको सम्मान' कार्यक्रमको प्रमुख अतिथिका रूपमा बाेल्दै उनले वर्तमान सरकार नेपालका लागि ब्रह्मास्त्र भएको बताए । ०८४ सालमा कांग्रेसले एमालेसँग नै सशक्त प्रतिस्पर्धा गर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसअघि नै दुई ठूला दल मिलेर मुलुककाे विकास गर्नुपर्ने बताए । यो सरकारलाई असफल हुने छुट नभएको उनको भनाइ छ ।

नेपाल विविधतापूर्ण संस्कृति भएको अनुपम र अद्वितीय भूमि भएको उनले बताए । प्राकृतिक र सांस्कृतिक विविधतालाई समन्वय गरेर आफू मन्त्रीका रूपमा  अघि बढिरहेको उनले बताए । नेपालको संस्कृति र प्रकृति नै यहाँको अमूल्य निधि भएकाले नेपाललाई विश्वमा यसैमार्फत चिनाउनुपर्ने उनको भनाइ थियो । 

आफू केही दिनअघि भारतको एउटा विश्वविद्यालयमा पुगेकाे र त्यहाँ नेवारी विषय पढाउन लागेको थाहा पाउँदा अचम्ममा परेको उनले बताए । अरु देशले सकारात्मक संस्कृति जहाँबाट पनि लिने गरेको, तर नेपालले भने अन्य देशको विकृतिलाई मात्रै अनुशरण गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

उनले आफू राजनीतिक जीवनभर सत्य र निष्ठाको बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आफू वाल्मीकि क्याम्पसमा नै पढेको विद्यार्थी भएकाले संस्कृत शिक्षाले दिएको संस्कार कहिल्यै नभुल्ने बताए । वाल्मीकि क्यम्पस र तीनधारा संस्कृत छात्रावासले आफूलाई प्रजातान्त्रिक संस्कार सिकाएको उनले बताए । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइरालाले संस्कृत विश्व विद्यालयको नेतृत्वका लागि आफूलाई सक्षम बनाउन आग्रह गरे । नेपालमा १४ वटा विश्वविद्यालय रहेकाले सबै विश्व विद्यालयको नेतृत्व गर्ने गरी आफूलाई सक्षम बनाउन उनले प्राध्यापकहरूलाई आग्रह गरेका हुन् । 



उक्त अवसरमा सेवानिवृत्त प्राध्यापकहरू प्राडा नवराज कट्टेल, प्रा ध्रुवप्रसाद ज्ञवाली, प्रा रामप्रसाद अधिकारी, प्रा पद्मप्रसाद भट्टराई, सहप्रा श्रीराम सापकोटा, सहप्रा नन्दन भट्टराई र उपप्रा कृष्ण रिजाललाई सम्मान गरिएको थियो ।

समारोहमा प्राडा धनेश्वर नेपाल, प्राडा शन्तिकृष्ण अधिकारी, क्यम्पस प्रमुख प्राडा भागवत ढकाल, पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, नेसंवि प्राध्यापक संघका सभापति  प्राडा मुकुन्दप्रसाद लामिछाने,  प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष प्रा.कृष्णकान्त पराजुली र सम्मानित व्यक्तिहरूलगायतले मन्तव्य राखेका थिए ।



प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि इकाइका अध्यक्ष सहप्राध्यापक मुरलीधर दाहालको अध्यक्षता, सहाप्रा रामहरि कोइरालाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण उपप्रा रामप्रसाद पौडेलले गरेका थिए ।

  • प्रकाशित मिति : भदौ १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया