नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ ।
मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा मंगलबार नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए ।
आज बिहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सकिएको छ ।
आसन्न केन्द्रीय समितिको बैठकको तयारीस्वरूप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ ।
अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।