महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताए । उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ । कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो । तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन हुन्छ’, मन्त्री साहले भने ।
मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख, २००० (पार्लेमो प्रोटोकल) कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्नुपर्नेमा जोड दिए ।
पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको थियो । नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन ।
कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्याल, अधिवक्ताद्वय रोजिना श्रेष्ठ र विनोदचन्द्र देवकोटालगायतले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि यथाशीघ्र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन हुनुपर्नेमा जोड दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।