राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् । सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएलगत्तै उनले सत्तारुढ दुई दलका शीर्ष नेतासँग भेट गरेका हुन् ।
लामिछानेसँग संसदीय विशेष समितिले भदौ ७ गते नौ घण्टासम्म बयान लिएकाे थियाे । त्यस्तै, कास्की प्रहरीले पनि उनीसँग भदाै १० गते काठमाडौंमै आएर बयान लिएको थियो।
प्रधानमन्त्री ओली र लामिछानेबीचकाे भेटघाटबारे प्रधानमन्त्रीनिकट स्राेतले पनि पुष्टि गरेकाे छ। तर, कुराकानीकाे विषयमा भने खनभिज्ञता प्रकट गरेकाे छ । कास्की प्रहरीले बयान लिने छनक पाएपछि लामिछानेले चितवन पुगेर सरकारप्रति आक्रोश पोखेका थिए।
उनले भनेका थिए,‘सक्छौ तिमीहरूले मलाई थुन, हतकडी लगाऊ, सकेनौ भने म तिमीहरूलाई छाड्नेछैन, अल भर्सेस वान, सबै भर्सेस रास्वपा ।’त्यसलगत्तै कास्की प्रहरीले भदौ १० गते लामिछानेसँग बयान लिएको थियो ।
लामिछानेले बाहिर कांग्रेस-एमालेकाे आलोचना गरे पनि भित्रमित्रै आफूलाई जोगाइदिन ओली देउवासँग हारगुहार गरेका छन् । यता, प्रहरी प्रधान कार्यालय स्राेतले भने लामिछानेले ओली र देउवालाई भेटे पनि अनुसन्धान प्रभावित नहुने बताएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।