शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गरिन् । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उनको भनाइ छ ।
मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पारिन् । उनले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताइन् । उनले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गरिन् ।
विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने उनले धारणा राखिन् ।
बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठूलो सुधारको खाँचो रहेको बताए । पूर्वमन्त्रीसमेत रहेका उनले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।