गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । कञ्चनपुरको आज शुक्लाफाँटा नगरपालिका –१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बिच समिकरण बनाइ स्थीर सरकार गठन भएको बताएका हुन् ।
‘सरकार अस्थीर हुँदा नयाँ समिकरण बन्ने भत्किने अवस्था थियो’, उनले भने, ‘सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।’ सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ ।
संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समिकरण रहिरहने उनले बताए । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उनले उल्लेख गरे । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाइ छ ।
कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गर्नुभयो ।
त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिए । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।