नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुक तथा अन्य सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचना नलेख्न ध्यानाकर्षण गराएको छ । पछिल्लो समयमा युवाहरूले सामाजिक सञ्जालमा सरकारविरुद्ध लेख्न थालेपछि बिहीबार ब्युरोले एक सूचना जारी गर्दै यस्ताे चेतावनी दिएको हाे ।
ब्युरोले सूचनामा लेखेको छ,‘आम नागरिकले जानीनजानी सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रामक तथा गलत सूचना सम्प्रेषण गरी उदण्डताको स्थिति सृजना भएको र सामाजिक सद्भावमा समेत असर पर्ने देखिएकोले यस प्रकारका गतिविधिमा नेपाल प्रहरी साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा लेखिएको छ,‘साथै कानूनको अज्ञानता क्षम्य नहुने भएकोले यस्ता गतिविधिमा संलग्न नहुनु अनुरोध गर्दै मर्यादित तवरबाट सामाजिक सञ्जालहरुको सदुपयोग गर्नुभई सही सूचना आदान प्रदान गर्नु हुन सबैमा अनुरोध गर्दछौँ।’
काठमाडौंको टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा हो–हल्ला गरेको आराेपमा युवाहरू पक्राउ परेका थिए । परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखेकाे आराेपमा केही दिनअघि प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।