logo-img

संघीय संरचनामा प्रदेश सरकार सबैभन्दा अब्बल : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनामा सबैभन्दा अब्बल प्रदेश सरकार रहेको बताएका छन् । कोशी प्रदेश सरकारको समन्वय एवं ‘फेडरालिजम् एण्ड लोकलाइजेसन सेन्टर’द्वारा आज यहाँ आयोजित ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहीन टिप्पणी हुने गरेका बताए ।

संघीयता आएपछि सबैभन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको जिकिर गर्दै उनले विगत ३० वर्षमा हुन नसकेको काम संघीयता आएपछि भएको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘प्रचारप्रसार गर्न नसक्दा हाम्रो बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।’ उनले सात वर्षमै संघीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने उल्लेख गर्दै केही अधिकार प्रदेशलाई प्रत्यायोजन  हुन बाँकी रहेको अवस्थामा संघीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको बताए ।

संघीय सरकारभन्दा स्तरीय बाटो, पुललगायत विकास प्रदेश सरकारले गरिरहेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेशको काम छैन भन्ने जस्ता सतही टिप्पणी हुने गरेका बताए ।

उनले प्रदेश संरचनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको छ भन्दै यस्ता टिप्पणी गर्नुअघि महालेखा परीक्षकको प्रतिवेदन हेर्न आग्रह गरे ।

विगत सात वर्षमा सबैभन्दा बढी सक्रिय भएर प्रदेश सरकारले नै विकास निर्माणको काम गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘यो भनाइ र आधारलाई महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।’





  • प्रकाशित मिति : भदौ २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया