प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उद्धण्डताका कारण संक्रमणकालीन न्यायसम्बन्धी काम पनि प्रभावित हुने जोखिम बढेको बताएका छन् ।
शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भएकाे भेटमा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । संक्रमणकालीन न्यायलाई टुंगाेमा पुर्याउन प्रचण्ड इच्छुक नरहेकाे उनकाे आरोप थियाे ।
डा. भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विषयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्रचण्डको पछिल्लो क्रियाकलापले उनीसँग एकैठाउँमा बस्न पनि नसकिने अवस्था सिर्जना भएको बताएका थिए ।
तीन–तीनपटक प्रधानमन्त्री भइसकेकाे व्यक्तिले मर्यादा नै नाघेर संसदमा कुरा राखेकाे गुनासाे गर्दै ओलीले भने, ‘उहाँको उद्धण्डताले संक्रमणकालीन न्यायसम्बन्धी काम पनि प्रभावित हुने जोखिम बढेको छ ।’
प्रधानमन्त्रीले आफू द्वन्द्वको पक्ष र विपक्षमा नरहेकाे भन्दै निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका थिए । उनले भने, 'म शान्ति प्रक्रिया टुङ्ग्याउन एकदमै सकारात्मक छु, तर म एक्लैले गरेर हुँदैन, खासगरी द्वन्द्वको एउटा पक्ष प्रचण्डजी तयार हुनुपर्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।