मजदुर दिवसमा सिकर्मी यादवको खुसी– प्रधानमन्त्री हामीलाई भेट्न आउँछन् रे !

काठमाडौं– आज १ मे । संसारभरका मजदुर एक हौँ भन्ने नारासहित मजदुरहरुले मनाउने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मजदुर दिवस मनाइँदै छ । 

काठमाडौंमा पनि विहानैदेखि रत्नपार्क र वरपर मजदुरहरुले र्याली निकालेका छन्, आफ्ना हक अधिकारको माग गरेका छन् । 

तर, मुख्य चोकभन्दा थोरै पर जानुपर्छ, खासमा काम गरिरहनेहरु गरिरहेका नै छन् । र्यालीमा गए बेलुकीको छाक नटर्नेहरु सहजै भेटिन्छन्, र्यालीकै वरपर पनि । 

तिनैमध्येका एक हुन्, वीरगन्जका लालु यादव । २७ वर्षका लालु बुधबार मजदुर दिवसको दिन भोटाहिटी गेटैमा मसला बनाइरहेका थिए, सिमेन्ट र गिटी घोलिरहेका थिए । 

यादव उत्तर फर्किएर काम गरिरहेका थिए । केही पर उनी फर्किएकै तिरबाट आउँदै थियो, एउटा लामो जुलुस, मजदुरहरुको हकहितको माग गर्ने नारासहित । 

गिटी, बालुवा र सिमेन्ट घोलिरहेका लालुले केहीबेरमा टक्क उभिए । अनि लामो सास ताने । अनि हातमा झन्डा बोकेकाहरुलाई हेर्दै उनले भने, ‘यो मजदुर दिवस भनेको हामीलाई कहाँ थाहा हुन्छ हजुर ?’



मजदुरको हकहितका लागि निकालिएको र्यालीमा धेरैले बोकेका छन्, विभिन्न पार्टीका झन्डा । यता, हातमा बेल्चा बोकेका लालुलाई आफूले काम सुरु गरेको पर्खाल बनाएर सक्नु छ, त्यो पनि तीन दिनमा । 

लालु वीरगन्जबाट काठमाडौं छिरेको १० वर्ष भइसक्यो । योबीच उनले मजदुरी मात्र गरे, इँटा बोके, बालुवा चाले, मसला बनाए, पर्खाल लगाए । उनले कहिल्यै मनाएनन् मजदुर दिवस । 



कामको चटारोबीच आज रत्नपार्क वरपर भइरहेका र्यालीहरु उनी ध्यान दिएर नियालिरहेका छन् । 

‘एकछिनमा त प्रधानमन्त्री आउँछन् रे नि !’ उनले भन्न भ्याए, ‘हाम्रा कुरा गर्छन् रे, हामीसँग कुरा गर्छन् रे ।’

२ बजे भृकुटीमण्डपमा कसैले प्रधानमन्त्री आउँछन्, सभामा जानुपर्छ भनेर लालुलाई भनिदिएको थियो । ‘प्रधानमन्त्रीजस्तो मान्छे हामीजस्तो मान्छेलाई भेट्न आउँछन् भन्दा खुसी नै लाग्यो,’ लालुले भने, ‘त्यसैले यो काम अहिले छिटो छिटो सक्नुपर्छ, काम सक्नु पर्ने भएकाले पनि मजदुर दिवसको रौनकले छोएको छैन ।’

बिहान नौ बजेबाट काममा लागेका लालुलाई अब छिटो काम सकेर प्रधानमन्त्री आउने सभामा जान हतार भइसकेको थियो । ‘तर, यति काम त भ्याउँछु,’ उनले भने, ‘अनि २ बजे पुगे भइहाल्यो नि भृकुटीमण्डप ।’

लालुलाई त पछि कसैले आएर भनिदिएको थियो, आज मजदुर दिवस हो । लालुलाई त पछि कसैले आएर भनिदिएको थियो– प्रधानमन्त्री भृकुटीमण्डपमा आउनेछन् । तर, उनको बाध्यताले उनलाई विहानै पुर्याएको थियो भोटाहिटी । अन्यथा उनी पनि बिहानैदेखि सामेल हुने थिए होलान्, मजदुर दिवसका र्यालीमा । आखिर सन् १८७७ मा अमेरिकामा मजदुरका लागि पनि आराम र मनोरन्जन चाहिन्छ भनेर सुरु भएको न थियो, मजदुर दिवस !

  • प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार २२:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया