खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका–१६ एकाइ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी पुर्याउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । विद्यमान खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट प्राथमिकताका साथ योजना अघि सारेको उनले बताए ।
‘पानीको समस्याले जनतालाई सास्ती भइरहेको छ, यो विषयमा सरकार गम्भीर छ, दीर्घकालीन समाधानका लागि योजना बनाइरहेका छौँ’, मन्त्री यादवले भने, ‘हामीले यो विषयमा ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधान हुनेमा प्रतिबद्ध छौँ ।’
जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरु अघि बढाइने मन्त्री यादवको भनाइ छ । जसपाका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले पार्टीको नीतिगत निर्देशनका आधारमा जनताको सेवा र कल्याणमा आफू निरन्तर सक्रिय रहेको बताए । जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्नेगरी सङ्गठनलाई सुदृढ बनाइने उनको भनाइ छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताए । उनले भने, ‘वीरगञ्जको समृद्धि र विकासका लागि आफूसँगै सबै कर्मचारी निरन्तर क्रियाशील छौँ । जनताको समस्या समाधान गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।’
नगरप्रमुख सिंहले पार्टीको साझा उद्देश्यलाई साकार बनाउन कार्यकर्ता सबै एकतामा बाँधिएर जनताका आवश्यकतामा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।