नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मित्रराष्ट्र मालदिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन् । उक्त टोलीमा १२ जना खेलाडी र चार जना अफिसियल रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्याएको योगदान उल्लेखनीय रहेको बताए ।
प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धिहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टि गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टि गर्न थप अवसर प्रदान गर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।