राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो ।
यससँगै कोशीले तीन खेलबाट नौ अंक बटुल्दै अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अंक छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो । त्यस्तै, यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय बेहोरेको थियो ।
आज कोशीको जितमा पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक/एक गोल गरे । कोशीकी पूर्णिमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् ।
त्यसपछि खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।