logo-img

१११औँ बिपी जयन्ती
बिपी काेइराला : आफ्नै सरकारकाे आलोचना गर्न पत्रपत्रिकालाई विज्ञापन दिने प्रधानमन्त्री

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आइतबार काठमाडाैंमा ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्यो । भदौ २४ अर्थात् बिपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनू’ भनेर  पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसंगको चर्चा गरे । 

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले ०१५ सालको निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उनको धारणा प्रष्ट हुने बताए । उनले सरकारका गलत कामको आलोचना गरेबापत राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्दै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गरे । 

'पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बिपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा संलग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ,' बिपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहेका वरिष्ठ पत्रकार कमलले भने । 

पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई बिपीले भनेको सरकारका गलत कामको आलोचना गरेर लेख्नू भन्ने भनाइलाई वर्तमान नेतृत्वले पनि अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बिपीको विचार रहेको पनि कोइरालाले जानकारी गराए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले बिपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गरे । बिपीलाई बुझ्न उनले पत्रकारिता क्षेत्रलाई कसरी हेर्थे भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उनले जोड दिए । 



बिपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्दै विरहीले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बिपीले सूक्ष्म रूपमा हेर्ने गरेकाे प्रसंग उल्लेख गरे । 'पञ्चायतकालमा बिपी भारत निर्वासनमा बस्नुहुँदा नेपालका गुप्तचर पत्रकारको भेषमा बिपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बिपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो,' उनले स्मरण गरे । 

महासंका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगत्ले पहिलोपटक बिपी जयन्ती मनाएकामा खुसी व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा राखे । उनले व्यक्तिकेन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेको र यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । 'पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बिपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो,' उनले भने । 



युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपीको पत्रकारिता बारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया