प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदै छन् । न्यायपरिषदले नयाँ प्रधानन्यायाधीशका लागि योग्य आठ न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको छ ।
परिषदले प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम परिषदको सचिवालयमा पठाएको हो । नेपालको संविधानमा प्रधानन्यायाधीशका लागि तीन वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएको हुनुपर्ने प्रावधान छ ।
संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्दै आएको छ । साेही अभ्यास कायम रहेमा न्यायाधीश राउत प्रधानन्यायाधीशमा सिफारिस हुनेछन् ।
उनको नाम अनुमोदन भएमा उनले करिव १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
सिफारिसमा परेकामध्ये न्यायाधीश ढुंगाना कात्तिकको पहिलो साता अवकाश हुँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।