नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उनलाई चार वर्षको पदावधि रहनेगरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए ।
यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० साल असोज १७ को निर्णय (मा मन्त्रीस्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।
उनले २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेर २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् ।
उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् ।
उनले पदको गरिमा र आफू प्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।