नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरूपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौं शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बिपीले प्रजातन्त्रका लागि गरेको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए ।
बिपीले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्याएको योगदानलाई देशव्यापीरूपमा प्रचारप्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
बिपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताए ।
बिपी कोइरालाको २४ भदौ जन्म १९७१ मा भारतमा भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।
बिपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहेका थिए । वि.सं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रित्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।
१ पुस २०१७ मा शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।