logo-img

कार्यकर्तालाई प्रचण्डले भने- पार्टीलाई सुदृढ गर्दै भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलन गरौँ
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताएका छन् । साथै उनले पार्टीलाई सुदृढ तुल्याउने तर्फ दत्तचित्त भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीय बासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरू देश व्यापी बैठक र छलफलमा जुटेको बताए ।

पार्टीको मधेस प्रदेश स्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलन गर्ने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।’

आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक ‘एजेण्डा’प्रति मधेसी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उनले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी सङ्गठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।  

पार्टीलाई मधेसमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उनले व्यक्त गरे ।  





  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया