विविधताले भरिएको जीवन बिताउनुभएका बिपी कोइरालाको चर्चा हामी उहाँभन्दा धेरैपछि जन्मिएका पुस्ताले कसरी गर्ने भन्नेमा समस्या छ । तर, समस्याको समाधान पनि बिपी आफैँले गर्नुभएको छ । यस विषयमा उहाँका पुस्तक छन्, हामीले पढ्न सक्छौँ । उहाँका लेख छन्, त्यसलाई नियाल्न सक्छौँ, केलाउन सक्छौँ । उहाँको ज्ञानको गम्भीरता र गहिराई खोतल्न सक्छौँ ।
शब्दको हिसाबले वैज्ञानिक भए पनि बिपीले के गर्नुभयो, कसरी गर्नुभयो भन्ने कुराको हामीसँग अनुभव छैनन् । तर, बिपीका योगदानलाई सम्झिँदा, पढ्दा रोमाञ्चक लाग्छ । उहाँले कसरी चिनियाँ र भारतीय नेतासँग सन्तुलित सम्बन्ध स्थापना गर्नुभएको थियो । उहाँसँग किन भारतका प्रधानमन्त्री नेहरू र चीनका प्रधानमन्त्री दुवैले सम्मान भाव राख्थे, त्यसका कारण के थिए ? उहाँले कस्तो अवस्थामा किन इजरायललाई मान्यता दिनुभएको थियो ? त्यो उहाँको साहस थियो वा दुस्साहस थियो । यी इतिहासले खोतल्ने कुरा हुन् ।
मैले बिपीलाई चिनेको २६/२७ सालमा हो । वनारसमा गएर भेटेको थिएँ । १०–१५ मिनेट कुरा गरेको थिएँ । पछि बिपी नेपाल आइसक्नुभएपछि उहाँसँग निकटको सम्बन्ध भयो । नेपाली कांग्रेसको प्रचार समितिको कार्यालय जमलमा अर्थात् कमलादी जाने बाटोमा थियो । त्यहाँ बिपी सधैँ आउने गर्नुहुन्थ्यो । त्यहाँ उहाँको प्रेसको सम्पर्क सूत्रका रूपमा म थिएँ । उहाँसँग बाहिरका मान्छे भेटाउने काम गर्दथेँ ।
बिपी कस्तो हुनुहुन्थ्यो भन्ने विषयमा कुरा गर्दा मलाई डर पनि लाग्थ्यो । तर, उहाँको माया हेर्दा अचम्म लाग्ने थियो । कुनै वर्षको फागुन ७ गते म बिपी भएको ठाउँमा पुगेको थिएँ । उहाँको सन्देश लिन पुगेको थिएँ । मैले डायरीमा टिप्न थालेँ, उहाँ बोल्न लाग्नुभयो । रातो डायरी थियो । लेख्दालेख्दै चिसोले मेरा औँलाहरू कठ्यांग्रिएका थिए । बिपी आफैँले मेरो डायरी लिएर बाँकी रहेका टिप्पणी लेखिदिनुभयो । त्यस्तो मायालु पनि हुनुहुन्थ्यो । त्यो डायरी अहिले पनि सुरक्षित छ, त्यसलाई बिपी संग्रहालयले राखेको छ ।
मलाई उहाँले बाहिरी संसार देखाउनुभएको थियो । उहाँले मलाई भोला चटर्जीसँग नजिकको सम्बन्ध बनाइदिनुभएको थियो । भोला बंगालका सुप्रसिद्ध पत्रकार एवं लेखक थिए । भारतका नामी पत्रकारसँग एउटा विद्वताको सम्बन्ध बनाइदिनुभयो । यस्ता कुरामा कहिले पनि कन्जुस्याइँ गर्नुभएन । यही हिसाबले उहाँलाई सम्झिने हो भने धेरै ठूलो काम गरेर जानुभयो । हामीले त्यस्ता ठूला काम गर्न सकेका छैनौँ । जे–जति भएका छन्, त्यो पनि भत्किने बेलामा छन् जस्तो लाग्छ, कहिलेकाहीँ । निराशाको कुरा होइन, अहिले सामाजिक सञ्जाल हेर्दा, पत्रपत्रिकाको अवस्था हेर्दा देशप्रतिको छटपटी नै छैन, माया छैन । आफूकेन्द्रित मात्रै छ ।
यसलाई सुधार गर्नु, लयमा लानु भनेको ठूलो कुरा हो, हामीले जे गर्यौं–गर्यौं । कति गर्न सकेनौँ । तर, नयाँ पत्रकार साथीहरूले भोलिको नेपाल र नेपाली सञ्चारलाई बलियो बनाउनु, आफ्नो भाषामा सुधार गर्नुहोस् । हाम्रो भाषाले हामीलाई नै विरोध गर्न थालेको छ । हामी इन्टरनेटमा गयौँ, तर यहाँ नकराएसम्म केही हुँदैन । एआईले केही गर्दैन । मानिसको मस्तिष्कभन्दा अगाडि कोही बढ्न सक्दैन । जस्तोसुकै आविष्कार गरे पनि थेग्न सक्दैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।