नेपालमा पछिल्लो समय डेंगु, हैजासँगै जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्न थालेको छ । विशेषगरी जापानिज इन्सेफ्लाइटिस संक्रमण मनसुन सुरु भएयता तीव्र रूपमा बढ्दै गएको पाइएको छ ।
मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौजनाको मृत्यु भइसकेको छ । टेकु अस्पातालखन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार यो रोगबाट कैलालीमा तीन र सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एक-एकजना गरी नौजनाको मृत्यु भएको हो ।
यस वर्ष भदौको अन्तिम सातासम्म आइपुग्दा ५३ जनामा इन्सेफ्लाइटिस संक्रमण देखिएको छ । गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सातजनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैजनाको मृत्यु भएको हो ।
गत वर्षको तुलनामा यो वर्ष कम संक्रमित भएको तथ्यांकले औँल्याए पनि मृत्यु संख्या भने यो वर्ष बढेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप नलिएकाहरू रहेको उनको भनाइ छ ।
डा. गौतमका अनुसार संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन् । प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने सम्भावना रहेको छ । धेरैजनाको मृत्यु भएपछि महाशाखाले बैठक राखेर खोप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ ।
डेंगु र हैजा संक्रमण पनि बढ्दै
एकातर्फ जापानिज इन्सेफ्लाइटिस संक्रमण बढ्दै गइरहेको छ भने अर्कोतर्फ डेंगु संक्रमण पनि उकालो लागिरहेको छ । गत आठ महिनायता देशभर आठ हजार १५९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण हालसम्म पाँचजनाको मृत्यु भएको छ । हाल डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको छ ।
पछिल्लो दुई महिनामा देशभर तीव्र रूपमा संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो वर्षको तुलनामा संक्रमण निकै कम भए पनि विभिन्न जिल्लामा अझै उच्चदरमा फैलिइरहेको हो ।
सबैभन्दा बढी संक्रमण देखिने अगस्टमा मात्रै अघिल्लो वर्ष १४ हजारभन्दा बढी प्रभावित थिए । यस वर्ष चार हजार २२६ जनामा संक्रमण देखिएको छ । जुन यस वर्षभरिमा सबैभन्दा धेरै हो । सेप्टेम्बरयता एक हजार ३१३ जनामा संक्रमण देखिएको छ ।
डेंगुबाट सबैभन्दा धेरै गण्डकी र बागमती प्रदेशका जिल्ला प्रभावित भएका छन् । हालसम्म गण्डकीमा तीन हजार ८६३ र बागमतीमा दुई हजार ७४ जनामा संक्रमण देखिएको छ । कोशीमा नौ सय ४४, मधेशमा एक सय ४०, लुम्बिनीमा पाँचसय ५६, कर्णालीमा एकसय १८ र सुदूरपश्चिममा चारसय ६४ जनामा संक्रमण भएको छ । यसबाहेक डेंगुबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा तनहुँ, कास्की, पर्वत, काठमाडौं र चितवन छन् । यी जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु संक्रमण देखिएको छ ।
यसैगरी, विभिन्न जिल्लामा हैजा संक्रमणका कारण बिरामी परेका सबैजना अस्पतालबाट डिस्चार्ज भएको महाशाखाले जनाएको छ । हालसम्म संक्रमणका कारण बिरामी परेका ८० जना संक्रमणमुक्त भएका हुन् । ललितपुरमा ५२, काठमाडौंमा १२, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई, मकवानपुरमा र सिन्धुपाल्चोकमा एक–एकजनामा हैजा संक्रमण भएको थियो । महाशाखाका अनुसार यसबाहेक विभिन्न जिल्लामा झाडापखालाका लक्षण देखिए पनि यस वर्ष हैजा फैलिएको छैन ।
शुद्धीकरण नगरिएको पिउने पानीको प्रयोग, वर्षाको पानी खानेपानीका स्रोतमा मिसिनु, खाद्यपदार्थ सफा नहुनु, बढ्दो भिडभाड वा सहरीकरण र संक्रमण फैलिएका क्षेत्रमा नियन्त्रणका लागि आममानिसले बेवास्ता गर्नुलगायत कारणले हैजा संक्रमण बढ्दै गएको विज्ञहरू बताउँछन् ।
संक्रमणजन्य रोगबाट कसरी जोगिने ?
चिकित्सकका अनुसार जापानिज इन्सेफ्लाइटिस संक्रमति लामखुट्टेले टोकेपछि मानिसमा यो रोगको संक्रमण हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ । यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ । यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेपछि यो रोग सर्छ । तर, मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।
यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस बिरामी बेहोससमेत हुन्छन् । बेहोस भएकामध्ये कतिपय बिरामीको मृत्युसमेत हुन सक्छ । लक्षणअनुसार यसको उपचार गरिन्छ । उपचारपछि निको भए पनि पक्षाघात भई अपांगताको समस्या रहिरहन्छ ।
यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ । तर, यो रोगविरुद्धको खोप लिए रोगको जोखिम हुँदैन । नेपालले जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरूमा संक्रमण भई मृत्यु भएको डा. गौतमले बताए । अहिले छुटेकालाई खोप दिए पनि खोप शरीरमा पुगेर काम गर्न एक महिना लाग्ने भएकाले खोपको औचित्य नरहेको, तर अर्को वर्षका लागि अहिल्यै खोप लिन सकिने डा. गौतमले बताए ।
सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिइएको थियो । हाल संक्रमण देखिएकामध्ये अधिकांश खोप नलगाएका बालबालिका भएकाले खोप वितरण प्रभावकारी बनाउन पहल भइरहेको डा. गौतमले जानकारी दिए ।
त्यसैगरी, हैजाबाट बच्नका लागि सबै भन्दा पहिला आफूले खानेपानी एकदमै सुरक्षित हुनुपर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘पिउने पानीमा पानीमा भिब्रियो कलेरा हुनुभएन । पानी सुरक्षित भन्नाले कस्तो भन्ने हुन सक्छ । आफूले प्रयोग गर्दै आएको पानी कि फिल्टर गरेको हुनपर्छ, कि सोडिस गरेको हुनुपर्यो वा उमालेको हुनुपर्छ ।’
‘बजारमा बोतल वा जारमा पाइने पानी गुणस्तरीय छ कि छैन निरक्षण गर्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ । जहाँ पायो त्यहीँको पानी नपिउने, घरवरिपरि सफा राख्नुपर्छ,’ डा. पुनले भने । यसका साथै उनले सबैलाई व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन र शौचालय व्यवस्थित बनाउने, शौचालय गएर आएपछि राम्रोसँग हात धुने बानी बसाल्न सुझाएका छन् ।
यस्तै, महाशाखाले मनसुन कायमै रहेको र लामखुट्टेको जोखिम अझै केही महिनासम्म रहने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सुरक्षाका उपाय लागू गर्नुपर्ने जनाएको हो ।
पानी ट्यांकी, ड्रम, गाग्री र बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी छोपेर राख्ने, आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जम्न सक्ने सामान सफा राख्न भनिएको छ । यसबाहेक टायर र गमला अथवा अकासे पानीबाट भरिने ठाउँ नियमित सफा गर्न आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।