मुसिकोट नगरपालिका-१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् । मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् ।
स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कूल एक हजार नौ सय ९५ जनाले सेवा लिएको उनले जानकारी दिए । मुसिकोट नगरपालिकालाई लक्षित गरेर शिविर आयोजना गरिए पनि शिविरमा जाजरकोट, रोल्पा, रुकुम पूर्वसम्मका बिरामीले सेवा लिएको अध्यक्ष शर्माले बताए ।
शिविरबाट उपचार सम्भव नभएका २० बिरामीलाई नेपालगञ्ज र १० बिरामीलाई जिल्ला अस्पताल सल्ले रेफर गरिएको छ । जसमा हाड्जोर्नी र स्त्री रोगसम्बन्धी बिरामी छन् । शिविरमा नाम दर्ताको लागि रु एक सय दर्ता शुल्क रहेकामा बिरामी जाँच तथा औषधि वितरण निःशुल्क गरिएको थियो ।
शिविरबाट स्त्री रोग, बाल रोग, हाड जोर्नी, हात घुँडा, कम्मर, नसाको जाँच तथा उपचार गरिएको थियो । त्यस्तै शरीरका विभिन्न अंगको दुखाइ, दाँतसम्बन्धी सेवा, हाइड्रोशील सम्बन्धी समस्याको जाँच तथा उपचार गरिएको थियो । शिविरमा दुई नेपाली र २० सिंगापुर गरी विशेषज्ञ सहित २२ चिकित्सकले सेवा प्रदान गरेको शर्माले जानकारी दिए ।
ग्रेस मिसन सिंगापुर आर्थिक सहयोग, मुसिकोट नगरपालिकाको समन्वयमा रूपान्तर नेपाल तथा ‘सिएसडिसी’ले स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।