काठमाडौंको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।
काठमाडौंको शङ्खरापुर नगरपालिका-६ साँखुमा वि.सं २०५४ देखि सञ्चालित सो अस्पतालले आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न लागेको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष भण्डारीले देशभरका आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिए ।
उनका अनुसार अस्पतालले वार्षिक चार सयभन्दा बढी आगोले पोलेका तथा जलनका बिरामीको उपचार गर्दै आएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलेका एक सयभन्दा बढी बालबालिका वार्षिक सुस्मा कोइराला मेमोरियल अस्पताल आउने गरेका छन् ।
यो अस्पताल नेपालकै पहिलो जलनसम्बन्धी उपचार गर्ने अस्पताल हो । अस्पतालले जलनको उपचारका साथै जलन रोकथामसम्बन्धी विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।