मसुद अजहर 'विश्व–आतंककारी' करार : अझै पाकिस्तानमाथि शंका गर्दै छ भारत !

नयाँदिल्ली– पाकिस्तान–बेस्ड विद्रोही संगठन जैस–ए–मोहम्मदका सर्वोच्च नेता मसुद अजहरलाई वैश्विक आतंककारी घोषणा गर्ने भारतको लामो प्रयास बुधबार सार्थक भयो । भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अजहरलाई आतंककारी घोषणा गर्यो । 

राष्ट्रसंघको यो घोषणालाई भारतीय अधिकारीहरुले पाकिस्तानको हारको रुपमा व्याख्या गरेका छन् । ‘यो ठूलो कूटनीतिक झड्काबाट निस्कन पाकिस्तान पूरै मामलालाई भड्काउने प्रयासमा रहेको’ उनीहरुको आरोप छ ।

उता, पाकिस्तानले भने ‘एक जिम्मेवार मुलुकको नाताले संयुक्त राष्ट्रसंघको घोषणालाई तत्काल कार्यान्वयन गराउने’ बताएको छ । अजहरमाथि कडा निगरानी राख्ने, उनलाई देशबाहिर निस्कन नदिने र हतियारको सप्लाईमा रोक लगाउने उसको प्रतिबद्धता छ । 

यसअघि, अजहरलाई विश्व–आतंककारी करार गर्ने भारतको प्रयासमा चीन बाधक बनिरहेको थियो । संयुक्त राष्ट्रसंघको स्थायी सदस्य चीनले ४ पटकसम्म प्राविधिक कारण देखाउँदै भारतीय प्रस्तावलाई फेल गरिदिएको थियो । यसपटक भने चीन भारतको बाटोमा तगारो बनेन । 

अजहर नेतृत्वको जैस–ए–मोहम्मद भारतमा भएका कैयौँ आतंककारी हमलाको जिम्मेवार मानिन्छ । पछिल्लो समय ५० भन्दा बढी भारतीय अर्धसैनिकको ज्यान गएको पुलवामा हमलाको जिम्मा उसले लिएको थियो । घटनाले द्वन्द्वात्मक सम्बन्धमा रहेका छिमेकी भारत र पाकिस्तालाई झन्डै युद्धकै स्थितिमा पुर्यायो । तर, अधिकारीहरुले अजहरमाथिको यो घोषणा कुनै एक घटनालाई आधार बनाएर नगरिएको बताएका छन् । 

सन् २००८ मा १६६ जनाको ज्यान जानेगरी भारतको मुम्बईमा भएको शृंखलाबद्ध आक्रमणपछि मनमोहन सिंहको सरकारले २००९ मा पहिलोपटक राष्ट्रसंघमा अजहरलाई विश्व–आतंककारी घोषणा गर्ने प्रस्ताव लगेको थियो । २०१६ यता मोदी सरकारले तीनपटक यही प्रस्ताव लगेको थियो । 



संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्मा ५ स्थायी र १० अस्थायी राष्ट्र रहन्छन् । ५ स्थायी राष्ट्रमध्ये जुनसुकैले एक्लै नचाहँदा पनि भिटो लगाएर प्रस्ताव फेल गर्न सक्छ । यसअघि चीनले नचाहँदा यस्तै भएको थियो । 

२५ वर्षमा अजहरले भारतमा २० भन्दा बढी ठूला हमला गराएको भारतको आरोप छ । 



  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार ११:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया