कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन् । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गरे ।
उनले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गरे । ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ’, उनले भने ।
मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत वञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
आज ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस २०८१ मनाइँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।