logo-img

मुस्ताङमा जग्गा भाडामा लिएर तरकारी खेती

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ ।

छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायो साग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताए ।

‘सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक रु। चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो,’ उनले भने, ‘फुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरूले करेसाबारीमा काम गर्छौ ।’

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा  दुई सय जनाभन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ ।

छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक रु चार हजारका दरले अनुदान उपलब्ध गराउछ ।

पूर्व प्राथमिकदेखि कक्षा तीनसम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरूका लागि अभिभावकहरूबाट न्यूनतम शुल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको प्रअ किसानले बताए ।



भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि सरकारले हिमाली विद्यालयहरूमा छात्रावास सञ्चालन गरेको छ । मुस्ताङमा ज्याला मजदुरीका लागि काम गर्न पुगेकाहरूको छोराछोरीको संख्या ८० प्रतिशत भन्दा बढी छ ।

पछिल्लो समयको मूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्न मात्र पुगेपछि विद्यालय आफैले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताए ।



उनले भने, ‘आफै उत्पादन गर्न थालेपछि तरकारी किन्न परेको छैन । तरकारी खेतीका लागि विद्यालयले वार्षिक ३० हजार तिरेर जग्गा भाडामा लिएको छ ।’

गत वर्ष कागखोलामा आएको बाढीले विद्यालयको दुई रोपनी करेसाबारी बगरमा परिणत भएको थियो । एक वर्षपछि नयाँ ठाउँमा जग्गा खोजेर करेसाबारीलाई निरन्तरता दिएको शिक्षक पौडेलले बताए ।

विद्यार्थीहरुले तरकारी खेती सम्बन्धी ब्यवहारिक ज्ञान लिन पाएका छन् । कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको पाँच रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ ।

तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकूलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ । नर्सरी स्थापनाका लागि सरकारी निकायबाट पाँच लाख ५० हजार अनुदान प्राप्त भएको थियो ।

  • प्रकाशित मिति : भदौ २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया