logo-img

नेपाललाई यसैवर्ष सडक बालबालिका मुक्त राष्ट्र बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र बनाउने अठोट व्यक्त गरेका छन् । नेपाल बाल संगठन द्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो संख्यामा बालबालिकाहरू बेसहारा र अभिभावकविहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरूले हप्कीदप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए ।

प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्न पर्ने बताए ।

‘बाल्यकालदेखि नै बालबालिकाहरूले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिकाहरू अभिभावकविहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैनन् भनेर भनेको थिए,’प्रधानमन्त्री ओलीले भने, उनीहरूले आफ्नो नैसर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरुको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।’

कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया