भारतमा उच्चशिक्षाः नेपाली विद्यार्थीका लागि किन फाइदाजनक ? के कुरामा होसियार हुने ?
स्केच: इन्टरनेटबाट ।

नेपालबाट भारत पढ्न जाने सिलसिलाको सुरुवात निकै अगाडिदेखि भयो । २००७ साल अगाडि पनि भारतमा पढ्न जाने चलन थियो । त्यति बेला राणा परिवारका केही सदस्य भारतमा पढ्न गएका थिए । भारतमा बेलायती शासन रहेको समयमा बेलायती कोर्ष अध्ययन गर्न पाउने रहर लिएर भारत पुग्नेहरु पनि धेरै नै थिए । 

पछि भारतीय दूतावासले नै पनि नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती दिएर भारतका विभिन्न विश्वविद्यालयमा पठाउन थाल्यो । यसमा धेरैजसो इन्जिनियरिङ पढ्न जानेहरु थिए । नेपालका कान्ति बाल अस्पताल, सहिद गेटलगायतका डिजाइन बनाएका शंकरनाथ रिमालले पनि भारतमा नै इन्जिनियरिङ पढेर आएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भारतीय विश्वविद्यालयबाट नै पिएचडी गरे । मिल्दोजुल्दो संस्कृति, भाषाको सहजता तथा नजिकै रहेकाले पनि भारतमा पढ्न जाने चलन अहिले पनि यथावत् नै छ ।

पछिल्लो समय भारतमा पढ्न जान चाहने नेपाली विद्यार्थीको संख्या बढ्दै गएको छ । हुन पनि अन्य देशमा पढ्न जानुभन्दा भारतमा पढ्न जानुका धेरै फाइदाहरु नभएका होइनन् । अहिले त बजारमा सुन्न पनि थालिएको छ, भविष्यलाई ख्याल गरेर जो विद्यार्थीले साँच्चिकै पढ्न चाहन्छ, उसले भारतका विश्वविद्यालयलाई नै रोज्छ । 

यस्तो किन पनि भयो भने पछिल्लो समय भारतले शिक्षामा निकै राम्रो लगानी गरिरहेको छ । भारतका विश्वविद्यालय विश्वका अन्य विश्वविद्यालयसँग तुलना गर्न सकिने भएका छन् । भौतिक संरचनाको हिसाबमा होस् या शैक्षिक स्तरको सन्दर्भमा किन नहोस्, भारतीय विश्वविद्यालयहरु विश्वका अन्य विश्वविद्यालयहरुभन्दा कम छैनन् । अहिले विश्वका राम्रा विश्वविद्यालयहरु विश्व र्यांकिङमा पनि निकै अगाडि आइसकेका छन् । त्यसले पनि भारतीय विश्वविद्यालयहरुलाई नेपाली विद्यार्थीको आकर्षण भएको छ । 

भारतमा मात्र होइन, पछिल्लो समय प्लस टु सकेपछि नै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जाने प्रचलन पनि बढेको छ । तर, अध्ययनको हिसाबमा भन्ने हो भने अष्ट्रेलियाभन्दा भारतीय विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीहरुले राम्रो गर्न सकेका छन् । यस्तो किन पनि भने भारत गएका विद्यार्थीहरुलाई अष्ट्रेलिया गएकाहरुको जस्तो आर्थिक प्रेसर पर्दैन । 

उद्धव बहादुर खड्काभारत चाहिँ विशुद्ध अध्ययनका लागि विद्यार्थीहरु पुग्छन् भने अष्ट्रेलिया जानेहरुलाई पढ्नुका साथसाथै आफ्नो अध्ययन खर्च जुटाउने पनि दबाब हुन्छ । यसले गर्दा एउटा विद्यार्थी पढ्नुभन्दा पनि बढी अन्य क्रियाकलापमा संलग्न भएको पाइन्छ । तर, भारतमा पढ्नै जाने विद्यार्थीले चाहिँ धेरै दबाब व्यहोर्नु पर्दैन, उसले आफ्नो अध्ययनलाई सहजै पूरा गर्न सक्छ । किन पनि भने अष्ट्रेलियामा एउटा सेमेस्टर अध्ययनका लागि चाहिने पैसा र भारतमा पूरै कोर्ष अध्ययनका लागि चाहिने पैसाको तुलना गर्दा झन्डै बराबरी हुन आउँछ ।



विशेषगरि प्लस टु सकेपछि ब्याचलर्स अध्ययनका लागि सबैभन्दा उपयुक्त ठाउँ हो भारतका विश्वविद्यालयहरु । यति बेला विद्यार्थीले ध्यान दिएर अध्ययन गर्ने हो भने भोलिका लागि धेरै अवसरहरु खुला हुन्छन् । फेरि भारत र नेपालका राजनीतिक, साँस्कृतिक, भूबनोट तथा धेरै कुराहरु समान हुने भएकाले भारतमा अध्ययन गरेका नेपाली विद्यार्थीलाई नेपालमा अवसर खोज्दा पनि सहज हुनसक्छ । 

नेपाली विद्यार्थीहरुमा सम्भावना देखेर नै हुनुपर्छ भारतका विश्वविद्यालयहरु नेपाली बजारमा अहिले एग्रेसिभ तरिकाले आइरहेका छन् । उनीहरुका लागि नेपालको बजार प्रमुख बजार भएको छ । झन्, भारतीय विश्वविद्यालयहरुलाई विश्व ¥याकिंङ क्यूएसमा आउने भएकाले पनि र भारतीय सरकारले पनि विश्वविद्यालयका पूर्वाधार तथा अन्य क्राइटेरियामा निकै कडाइ गरेको छ । त्यस्तै, एनआरएफ, एनबिए, न्याकलगायतका ¥याङ्किङ पनि आएका छन् । झन्, नेपाली विद्यार्थीहरुलाई सहज होस् भनेर भारतीय विश्वविद्यालयहरुले नेपालमा आधिकारिक परमार्शदाताहरु तोकेका छन् । पढ्न नै चाहने विद्यार्थीले परमार्शदाताहरुसँग छलफल पनि गर्न सक्छन् । 



भारतीय विश्वविद्यालयहरु नेपाली विद्यार्थीका लागि किन पनि राम्रा छन् भने त्यहाँ पुगेपछि एउटा विद्यार्थीले कहिल्यै पनि अरु विषयमा सोच्नु पर्दैन । न त्यहाँ पिआरको समस्या हुन्छ, न अध्यगमनका प्रसङ्ग हुन्छन् । त्यसैले भारत पढ्न जाने विद्यार्थी भनेको पढेर मात्रै फर्किन्छ । 

तर, भारतमा पढ्ने निर्णय गरिसकेपछि विद्यार्थीहरुले केही कुरामा ध्यान दिनुपर्छ । आफू जाने विश्वविद्यालय कुन ठाउँमा छ, त्यहाँको मौसम र त्यहाँको संस्कृतिबारे पहिले नै थाहा पाएर गएमा विद्यार्थीहरुलाई धेरै समस्या पर्दैन । एउटा विश्वविद्यालय त्यही समुदायमा कति पपुलर छ भन्ने कुरा पनि ध्यान दिनु पर्छ । पछिल्लो समय भारतीय विश्वविद्यालयमा भएका ठाउँहरुको सुरक्षा, समाज र त्यहाँको रहनसहनबारे पनि बुझेर जानु पर्ने भएको छ । भारतका नेपालीले छान्ने केही विश्वविद्यालयहरु रहेका ठाउँहरुमा नेपालीलाई भाषा, लवज तथा हाम्रा आनीबानी मिल्ने भएकाले ठूलो समस्या चाहिँ हुँदैन ।

यसका लागि नेपाली विद्यार्थीले सहज ठाउँहरु छान्दा पनि हुन्छ । जस्तो कि देहरादुन । देहरादुन भारतकै लागि पनि शैक्षिक हब हो भन्दा फरक पर्दैन । राजीव गान्धीदेखि अमिताभ बच्चनले पनि आफ्नो अध्ययन देहरादुनमा नै गरेका थिए । नेपाली भाषी पनि भएकाले देहरादुनका विश्वविद्यालयहरु नेपाली विद्यार्थीको रोजाइमा पर्दा अझ राम्रो हुनसक्छ । किनकि त्यहाँको समुदायमा भाषामा समस्या हुँदैन, त्यहाँको समुदायले नेपालीप्रति उत्तिकै उच्च सम्मानभाव प्रकट गरेको हुन्छ । यो सँगसँगै त्यहाँका विश्वविद्यालयहरु शिक्षाको सवालमा कुनै कम्प्रोमाइज गर्ने खालका छैनन् । त्यहाँका विश्वविद्यालयहरुका भौतिक संरचना पनि निकै लोभलाग्दा छन् । त्यस्तै, गुजरात पनि नेपाली विद्यार्थीका लागि अध्ययन गर्न जाने अर्को केन्द्र हुनसक्छ । बैङलोर पनि नेपाली विद्यार्थीका लागि राम्रो स्थान हुनसक्छ । यी ठाउँहरु सुरक्षा तथा शैक्षिक गुणवेत्ताका कारण पनि सहज छन्, सुरक्षित छन् ।

यस्तो हुँदाहुँदै पनि भारत अध्ययन गर्न चाहने विद्यार्थीले केही कुराहरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । जस्तो पछिल्लो समय नेपाली बजारमा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति मिलाइदिन्छु, विशेष अवसर मिलाइदिन्छु भनेर केही एजेन्टहरुले अनावश्यक प्रलोभन देखाइरहेको सुन्न सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यहाँ नै पैसा तिर्न लगाइएको पनि हुनसक्छ । तर, भारतका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले नेपालमा त्यहाँको ट्युसन फी तिर्नु पर्ने हुँदैन । उनीहरुले भारतमा नै गएर ट्युसन फी तिर्न सक्छन् । यस्ता अनावश्यक र नमिल्ने कुराहरुको प्रलोभनमा नेपाली विद्यार्थी पर्नु हुँदैन । कहिलेकांही यहाँका एजेन्टहरुले पनि विद्यार्थीसँग यहाँ नै शुल्क मागिदिन पनि सक्छन् । तर, भारतमा पढ्न चाहने विद्यार्थीहरुले के बिर्सनु हुँदैन भने त्यहाँका विश्वविद्यालयहरुलाई अध्ययन फी तिर्न उनीहरुकै एकाउन्टमा पैसा पठाउँदा पछि अनावश्यक लफडामा पर्न सकिने कुराहरुबाट छुटकारा पाउन सकिन्छ । 

केही सन्दर्भहरुमा नेपाली विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयबाट सोझै केही एजेन्टहरु आएर होटलमा कोठा लिएर आफ्ना विश्वविद्यालयबारे गलत तथ्याङ्क पनि प्रस्तुत गरेको पाइएको छ । अहिले नेपाली विद्यार्थी इन्टरनेटको सहज पहुँचमा छन् । उनीहरुले आफू जान खोजेको विश्वविद्यालयबारे इन्टरनेटको प्रयोगबाट धेरै कुराहरु थाहा पाउन सक्छन्, धेरै अध्ययन गर्न सक्छन् । त्यसैले विद्यार्थीहरुले आफू पढ्न चाहने विश्वविद्यालय, त्यसको शैक्षिक इतिहास तथा त्यो विश्वविद्यालय रहेको समाजका विषयमा पहिले अध्ययन गर्ने हो भने राम्रा शिक्षण संस्था छान्न समस्या हुँदैन ।

कतिपय भारतीय विश्वविद्यालयले सुरुमा नेपाली विद्यार्थीलाई तान्न अनावश्यक दाबीहरु पनि गरिरहेका हुनसक्छन् । भारतीय विश्वविद्यालयका यस्ता दाबीहरु कति सत्य छन् भन्ने पनि इन्टरनेटबाट थाहा पाउन सकिन्छ । त्यसैले विदेश अध्ययन गर्न जाने विद्यार्थीले चाहिँ पहिले नै विशेष ध्यान दिएर आफू अध्ययन गर्न लागेको कोर्षका साथसाथै अन्य विश्वविद्यालयको इतिहासबारे पनि ध्यान दिनु उचित हुन्छ ।

भारतीय विश्वविद्यालयले नेपालमा आएर नेपालका विश्वविद्यालय तथा कलेजसँग एमओयु गर्ने गरेका छन् । त्यो एमओयुको खासै अर्थ हुँदैन तर उनीहरुले त्यसलाई मार्केटिङमा बलियो टुलका रुपमा प्रयोग गरेका छन् । यस्ता कुराहरु रोक्न सकियो भने हाम्रा विद्यार्थीहरुलाई अझ सहज हुन्छ । नेपाली विश्वविद्यालयसँग भारतीय विश्वविद्यालयले फ्याकल्टी एक्सचेन्ज गर्ने तथा अन्य सुविधा दिने प्रलोभन देखाइरहेका छन् । यो कुरालाई जतिसक्दो छिटो अन्त्य गर्न पहल गर्नुका साथै नेपाली विद्यार्थीले यी कुराहरुलाई विशेष चासो दिएर ध्यानपूर्वक हेर्नु पर्ने हुन्छ । 

(उद्धव खड्का हब इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक हुन् ।)

  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १३:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया