logo-img

फोक्सोको क्षयरोग र क्यान्सर : समानता, भिन्नता, निदान र औषधी उपचार

बिरामीहरूमा विभिन्न प्रकारका कठिन रोगको निदान र उपचार वर्तमानमा चुनौतीपूर्ण छन् । सही निदानको लागि उपचारमा तल्लीन दक्ष चिकित्सकले बिरामीको बारेमा र रोग स्वयं बारेमा गम्भीरतापूर्वक विभिन्न आयाम र कोणहरूबाट विचार गर्नु पर्ने जरुरी देखिन्छ ।

प्रत्येक व्यक्ति एउटा भन्दा अर्को फरक छ र रोग पनि एउटा व्यक्तिमा जस्तो देखिन्छ, सोही रोग अर्को व्यक्तिमा फरक प्रवृत्तिको हुन सक्छ । रगत र इमेजिङ्गका रिर्पोटका आँकडाहरू वास्तविकता भन्दा पर हुन सक्छन् । यस्तै चुनौतीपूर्ण रहस्यहरूले भरिएको छ फोक्सोको क्षयरोग र फोक्सोको क्यान्सरबीचको भिन्नता र निकटता ।

फोक्सो क्षयरोग उच्च सङ्ख्यामा देखा पर्ने संक्रामक रोग हो । यो माइक्रो ब्याक्टेरियम टुबोरकुलोसीस् (Mycobacterium tuberculosis) भन्ने कीटाणुबाट हुने गर्दछ । यो लाम्चो आकारको कीटाणु हो । हावा प्रवाह हुने शरीरका अङ्गहरू जस्तो कि फोक्सोमा लामो समय बास गर्दछ । यो खोकी, खकार, हाँच्छ्युँ, नाक मुखको पानीबाट र हावाको माध्यम तथा सास प्रश्वासको माध्यमबाट रोगी व्यक्तिबाट अन्य व्यक्तिमा सजिलै सर्दछ ।

क्षयरोगले प्राय अधबैँसे तथा वृद्ध वृद्धालाई सङ्क्रमण गर्छ । रोगविरुद्ध प्रतिरोधक क्षमता कमजोर भएका व्यक्ति, सरसफाइ नगर्ने, पौष्टिक खाना नखाने, कुपोषण भएका व्यक्तिहरूलाई क्षयरोगले ग्रसित तुल्याउँछ । विश्वमा क्षयरोग मृत्युदर उच्च छ । यसको विपरीत फोक्सो क्यान्सर संक्रामक रोग होइन । यो रोग कीटाणुको संक्रमणले सर्दैन । यो एक किसिमको जटिल रोग हो जुन बिरामीको फोक्सोको कोशिकाहरू अनियन्त्रित तवरमा बढ्नाले घाउ जस्तै फैलिँदै जाने हो ।

फोक्सोको क्यान्सर प्राय गोलाकार हुन्छ । यो गोलाकार क्यान्सरको डल्लो दुवै वा एउटा फोक्सोमा हुन्छ । क्यान्सरको डल्लोको सबै तिर सियो जस्तो चुच्चो निस्केको हुन सक्छ र यो एक वा बढी सङ्ख्यामा हुनसक्छ । जब बिरामीको जिनमा भएको विकृति/त्रुटि वातावरणको कार्सिनोजिन (क्यान्सर गराउने तत्त्व) धुवा, धुलो, ग्याँस, चुरोटको विषालु कणहरूको सम्पर्कमा आउँछन् तब शरीरमा क्यान्सरको कोशिकाहरू उत्पन्न हुन्छन् । फोक्सोको क्यान्सर पुरुषहरूमा हुने क्यान्सरहरूमा प्रथम स्थानमा पर्दछ । क्यान्सर रोगले मृत्यु हुने बिरामीहरूको अधिकांश सङ्ख्यामा फोक्सोको क्यान्सर नै उच्च स्थानमा छ ।

फोक्सोको क्यान्सर र फोक्सोको क्षयरोग लक्षणबीच समानताहरू:–



१. ज्वरो दुवै रोगहरूमा आउँछ । ज्वरो क्षय रोगमा मन्द मन्द हुन्छ । तर, राति बढ्ने गर्छ । फोक्सोको क्यान्सरमा ज्वरो आउने जाने, कम या बेसी निर्धारित हुँदैन वा कुनै टुङ्गो हुँदैन ।

२. खोकी लाग्ने : दुवै रोगमा हुन्छ । क्षयरोगमा बेस्सरी निरन्तर लाग्छ र छाती दुख्छ । क्यान्सरमा खोकीको प्रकृतिमा नयाँ परिवर्तन देखिन्छ । मन्द-मन्द खोकी ख्याक ख्याक भई रहन्छ र खोकी छिटो जाँदैन । छाती गह्रुङ्गो हुन्छ।



३ तौल घट्ने– दुवै रोगमा तौल घटने हुन्छ । क्यान्सरमा छिटो तौल घट्छ र क्यान्सर क्याचेक्सीया हुन्छ । क्षयरोगमा तौल बिस्तारै घट्छ र कुपोषणमा परिणत हुन्छ ।

४. खोकीमा रगत देखिनु :– दुवै रोगमा हुन्छ । क्षयरोगमा रगत मसिनो धागो जस्तो खकारमा देखा पर्छ । क्यान्सर विशेष गरी स्क्वामस सेल कासिनोमा जुन फोक्सोको मध्यतिर हुन्छ र श्वासनलीमा छेडेको हुन्छ त्यसबाट एक चम्चा जति आलो रगत आउन सक्छ । एडेनो कासिनोंमा प्राय जसो फोक्सोको परिधितर्फ केन्द्रित र अवस्थित हुन्छ । त्यसबाट रगत आउने अत्यन्त न्यून सम्भावना हुन्छ ।

५. स्वाँ स्वाँ हुने स्वास फेर्न गान्हो हुने दुवै रोगमा हुन्छ । क्षयरोगमा निस्तर हुन्छ । फोक्सोको क्यान्सरमा क्षणिक हुन्छ र बारम्बार दोहोरिन्छ।

६. छातीको दुखाई : क्षयरोगमा बिरामीले कतातिर दुखाई छ औँलाले देखाउन सक्छ । फोक्सोको क्यान्सरमा बिरामीले दुखाई कतातिर छ भनेर औलाले देखाउन गाह्रो हुन्छ । तथापि यदि फोक्सोको क्यान्सरने नजिकैको करङ्गको हड्डीमा छेडेको छ अथवा फैलिएको छ भने बिरामीले सजिलै औलाले दुखेको ठाउँ देखाउन सक्छ।

७. गाँठोहरू घाटी वार पर, काँबीमा बढ्ने – दुवै रोगमा हुन्छ। दुवै रोगहरूमा एक वा एक भन्दा बढी गाँठोहरू बढ्न सक्छन् गाँठोहरुको स्वरूप र आकार मिल्दोजुल्दो हुन्छ । बाहिरबाट हेरेर अथवा छामेर गाँठोहरू क्यान्सरको हो कि क्षयरोगको भन्न गाह्रो हुन्छ। यद्यपि क्षयरोगको गाँठोहरू छाम्दा खर (Rubber) जस्तो महसुस हुन्छ तर क्यान्सरका गाँठोहरू छाम्दा ढुङ्गा जस्तो साह्रो हुन सक्छ। कारण र रोग यकिन गर्नको निम्ति सियोद्वारा गाँठोबाट नमुना झिकेर प्रयोगशालामा परीक्षण गर्नु पर्ने हुन्छ ।

८. फोक्सोको च्यादर/आवरणमा पानी जम्नेः दुवै रोगहरूमा हुन सक्छ । क्षय रोगको कारणले पानी जम्यो भने यसलाई टुबरकुलर प्ल्यूरल इफ्युजन भनिन्छ । यो पानी बिस्तारै जम्छ र महिना दिन लाग्छ । क्यान्सरको कारणले पानी जम्यो भने यसलाई म्यालिगनेन्ट प्ल्युरल इफ्युजन (Malignant Pleural Effusion) भनिन्छ। यो पानी छिटो छिटो मर्छ र दुई–तीन दिन देखि एक हप्तामा पुरा छाती भर्न सक्छ । 

क्यान्सरले गर्दा छातीमा पानी भरियो भने यो फिका गुलाफी अथवा रातो रङ्गको हुन् सक्छ। यदि क्षयरोगको कारणले छातीमा पानी जम्यो भने सेतो अथवा पानी जस्तो हुन सक्छ । क्षयरोगमा छातीको पानीमा क्षयरोगका कीटाणु भेटिन्छ । क्यान्सर रोगमा छातीको पानीमा क्यान्सरका कोशिकाहरू भेटिन्छन् ।

फोक्सो क्षयरोग र फोक्सोको क्यान्सरमा देखा पर्ने फरक लक्षण र कारणहरू

१. क्षयरोगी क्षयरोग अन्य सङ्क्रमित व्यक्तिको सम्पर्क भएको प्रमाण 

२. रोग प्रतिरोधक क्षमता कमजोर भएको स्वास्थ्य स्थिति

३. मादक पदार्थ सुई र ट्याब्लेटहरू दुर्व्यसन गरेको

४. एड्ससँग सम्बन्धित लक्षणहरू र एड्स रोग

क्यान्सर

१. विशेष गरी चुरोट पिउने व्यक्तिमा क्यान्सर सम्भावना बढी हुन्छ

२. चुरोट नखाए पनि चुरोटको धुवाँ निरन्तर अरू व्यक्तिबाट फोक्सोमा परेको व्यक्ति

३. विशेष धातु कोमीयम, आरसैनिक पेट्रोलियम पदार्थ र त्यसका कल कारखानामा नजिक / प्रत्यक्ष परेको व्यक्ति

४. परिवारमा अन्य सदस्यलाई क्यान्सर लागेको र मृतक गुणद्वारा छोरीछोरामा सरेको क्यान्सर

केही विशेष लक्षण फोक्सोको क्यान्सर अन्य अङ्गमा सरे पछि:–

१. हड्डीमा सरेपछि, विशेष गरी गरी ढाड दुख्ने गर्छ, 

२. हड्डी सानोतिनो दवाबले पनि तर्कन तथा आँच्न सक्छ 

३. स्वर ग्रन्थीमा सर्‍यो भने स्वर आँसिन वा  सुक्न सक्छ

४. क्यान्सर मस्तिष्कमा सर्‍यो भने बिरामीको टाउको दुख्ने, हात गोडा लुलो हुने बेहोस हुने जस्तो लक्षण देखिन सक्छन् । 

यद्यपि अन्य अङ्गको क्यान्सर सरेर आफै फोक्सोमा आएको पनि हुनसक्छ । यसको सम्भावना पनि उच्च छ । यसलाई द्वितीय क्यान्सर (secondaries) भनिन्छ । समान सन्दर्भमा यदि क्षयरोग हड्डीमा देखा परे यसलाई पट्स टुबरकुलोसिस (Potts Spine Tuberculosis) भनिन्छ। मस्तिष्क क्षयरोग पनि हुने गर्दछ । यसलाई ब्रेन टुबरकुलोसिस् भनिन्छ ।

फोक्सोको क्षयरोग र फोक्सोको क्यान्सर पहिचानका लागि आवश्यक जाँचहरू

१. खकारको परीक्षण,

२. श्वास नली भित्रको पानीको जाँच (Bronchoscopic Lavage),

३ छातीको एक्स–रे

४. सी.टी. स्क्यान,

५. गाँठोबाट व्योप्सी,

६. छातीमा जमेको पानीको जाँच,

७. टि.वी. पी.सी. आर टेस्ट क्षयरोगको लागि,

८. फोक्सोको क्यान्सरका लागि मलेकुलर टेस्ट,

फोक्सोको क्षयरोग र फोक्सोको क्यान्सर दुवै रोगका राजा हुन्। यी दुवै आफैंमा वृहत् छन् । दुवै रोगको धेरै जसो लक्षणहरू मिल्दोजुल्दो भए पनि दुवैको संस्कार, प्रकृति र चाल चलन बिलकुलै फरक छ । दुवै रोगमा फरक–फरक कारक तत्त्व छन्, (माइकोबाक्टेरीम टुबरकुलोसिस र क्यान्सर का कोशिका) । दुवै रोगको उपचार बिलकुलै फरक छ । फोक्सो को क्षयरोगमा क्यान्सरको औषधीले फिटिक्कै काम गर्दैन । त्यसरी नै फोक्सोको क्यान्सरमा टिवीको औषधीले पटक्कै काम गर्दैन ।

रोगको सही निदान नहुँदा परिणामहरू :

१. बिरामीले समय सही उपचार पाउँदैनन्, 

२. रोगको समयावधि लम्बिन्छ, 

३. बिरामीले अनावश्यक अस्पताल भर्ना, प्रोसीडीयर, औषधी उपचारको भार / आर्थिक दुष्परिणाम भोग्नु पर्ने हुन्छ ।

४. सम्बन्धित विशेषज्ञ चिकित्सकसँग भेट्न नपाउँदा बिरामीले सही परामर्श र रोगबारे बुझे अवसर पाउँदैन, 

५. रोगीले अर्कै रोगको औषधी हप्ता र महिनौं खाएपछि अन्तमा वास्तविक रोग पत्ता लाग्छ । नयाँ औषधी उपचार सुरु देखी गर्नुपर्दा खर्च दोब्बर हुन्छ । र, तनाव दस गुणा बढ्छ ।

६. रोगको सही निदान नहुँदा रोग बढेर एडभान्स स्टेजमा पुगी सक्छ । फैली सकेको छातीको क्षयरोग र फैली सकेको फोक्सोको क्यान्सर दुवैको उपचार अत्यन्त कठिन छ । जस कारण धेरै समय औषधि उपचारको आवश्यकता पर्दछ ।

७. रोगको निदान सही निदान नभएमा बिरामीको मृत्यु निश्चित छ ।

८. यदि फोक्सोको क्यान्सरको रोगीले क्षयरोगको उपचार पाएको छ भने त्यो उपचार, उपचार नै होइन । 

यस दुष्परिणामबाट बच्नको लागि बिरामी के गर्न सक्छन् ?

१. चुरोट, खैनी सुर्ती पराग, तम्बाकु, सिसा, हुक्का सबै जथाभाबी हुन् । फोक्सोको क्यान्सर र फोक्सोको क्षयरोग दुवै गराउने एक नम्बर शत्रु चुरोट र तम्बाकु हो। यसलाई कदापि नलिनुस् ।

२. जुन साथी मित्रले चुरोट पिउन दिन्छ, भोलि देखी त्यस्ता साथीको सङ्गत नगर्नुस् । दुष्कर्म सिकाउने, गलत बाटो देखाउने सबभन्दा ठूलो शत्रु हो। 

३. स्वस्थ खाना खानुहोस् । भोको पेट नबस्नुस् । शरीर कमजोर भए पछि रोगले च्याप्ने गर्छ र जीवनको अस्तित्व खतरामा पर्छ ।

४. क्षयरोगी सामुन्ने अथवा सम्पर्कमा नआउनुहोस् । यो रोग खोकीको माध्यमबाट सर्ने भएकाले टाढै बस्नुपर्छ । 

५. आफ्नो रोगबारे चिकित्सक सङ्ग खुलेर प्रश्न र प्रतिप्रश्न गर्नुहोस्।

लेखक डा. अख्तर क्यान्सर रोग विशेषज्ञ हुन् 

  • प्रकाशित मिति : भदौ ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया