२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

जलन उपचार निःशुल्क गर्ने सरकारको तयारी
तथ्यांक भन्छ– जलनमा पर्छन् वार्षिक पाैने एक लाख मानिस

अढाई वर्षअघि नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भए । ३ फागुन २०७९ मा आफ्नै घरको ग्यास चुहावटपश्चात् आगलागी भएको थियो । जलनका कारण उनकी आमा हरिकलाको निधन भयो । 


देशमा उपलब्ध स्रोत र साधनले घाइते डा. भण्डारीको उपचार सहज हुने देखिएन । कीर्तिपुरको जलन उपचार अस्पतालले उनलाई यथाशीघ्र देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न सिफारिस गर्यो । सोहीअनुरूप उनी लामो समय भारतमा उपचार गराएर नेपाल फर्किए । 



१० जेठ २०८०, सदनमा उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका सांसद डा. भण्डारीलाई बोल्न समय दिइन् । उनका लागि १२ मिनेटको समयावधि तोकिएको थियो । तीन महिनाअघि उनले आफू दुर्घटनामा परेकै दिउँसो संसद्मा बोलेका थिए । 



त्यसबीचमा सांसद भण्डारी जीवन–मरणको दोसाँधमा पुगेका थिए । त्यसैले होला, उनी सम्बोधन गर्न रोष्ट्रमतर्फ उक्लँदै गर्दा सबैको ध्यान उनैमा केन्द्रित थियो । आधा दर्जन मर्यादापालकको सहयोगमा उनलाई त्यहाँसम्म पुर्याइएको थियो । सांसद डा. भण्डारी केही बेरको संघर्षपछि कुर्सीमा बसे । र, सानो स्वरमा बोल्न थाले– ‘मैले उपचार गराएको अस्पताल (भारत)का डाक्टरहरूले भनेअनुसार विगत तीन वर्षमा तीनजना मात्रै मानिस भेन्टिलेटरमा पुगेर बाँचेका रहेछन् । त्यसमध्ये म एउटा नेपाली । सौभाग्यले बाँचेर आएर बोल्दै छु ।’ 

उनले अगाडि भने, ‘मैले जुन परिवेश बेहोर्नुपर्यो, त्यो धेरै नेपालीहरूले भोग्नुपरिरहेको छ । गत वर्ष मेरी आमासहित एकसय ११ जनाले जलनकै कारण मृत्युवरण गर्नुपर्यो ।’ उनले काँपिरहेको आवाजमै सरकारसमक्ष थुप्रै प्रश्न र आग्रह गरे । उपसभामुखले पटक–पटक समय सकिएको जनाउ दिँदा पनि उनी रोकिएनन् । सुस्त आवाजमै भए पनि उनी करिब १८ मिनेटसम्म बोलिरहे ।

देशभरका जलनका बिरामीलाई नेपाल सुष्मा कोइराला मेमोरियल अस्पताल र कीर्तिपुर अस्पतालले थेगेको भन्दै उनले नेपालमा त्यस्ता अस्पताल अझै धेरै आवश्यक रहेको औँल्याए । र, आफ्नो लागि सरकारले गर्ने आर्थिक सहयोग अस्पताललाई नै प्रदान गर्ने घोषणा गरे । 

जटिल अवस्थामा जलन 



नेपालमा जलनको समस्या जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलनमा पर्छन् । नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेको तथ्यांक छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सन् २०२३ मा मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । जलनको उपचार गर्ने अस्पतालको कमीका कारण घाइतेहरूले समयमा उपचार पाउन सकेका छैनन् । आगो, तातो तेल, विद्युतको करेन्ट, एसिड प्रहार, तातोपानी, तातो दूध वा अन्य तातो तरल पदार्थका कारण जलन भएका छन् । 

नेपालमा जलनको उपचारमा निकै सास्ती बेहोर्नुपरेको जगजाहेर नै छ । अस्पतालको कमीका कारण दुर्गम क्षेत्रका घाइतेले समयमा उपचार पाउन नसक्दा जीवनभर अंगभंग हुनुपर्ने तथा ज्यानै गुमाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था छ ।

कहाँ–कहाँ हुन्छ जलनको उपचार ?

हाल देशका आठवटा अस्पतालमा मात्र जलनको उपचार हुन्छ । यीमध्ये चारवटा अस्पताल त काठमाडौंमा मात्रै छन् । जलनको घाइतेको पूर्ण उपचार कीर्तिपुर, सुष्मा कोइराला मेमोरियलमा हुने गरेको छ । त्यस्तै, त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ । त्यहाँ छवटा शय्याको जलन विभाग छुट्याइएको छ । दुर्गमका नागरिकले जलनको उपचार गराउन निकै नै सास्ती बेहोर्नुपर्छ ।

कीर्तिपुर अस्पतालमा बर्सेनि छ सय बिरामी पुग्ने गर्छन् भने टिचिङमा तीन सय र सुष्मा मेमोरियलमा तीन सय बिरामी पुग्ने गरेको ती अस्पतालको तथ्यांकमा उल्लेख छ । जलनमा परेपछि अस्पताल आउनेमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी काठमाडौंबाहिरका रहेको कीर्तिपुर बर्न अस्पतालको तथ्यांकले देखाउँछ । तत्काल प्राथमिक उपचार नपाउँदा बिरामीको अवस्था जटिल हुन गई उपचारमा पनि थप जटिल हुन सक्छ । 

जलनको उपचारका लागि काठमाडौंमै आउनुपर्ने बाध्यतालाई कम गर्न जलनकै लागि मात्र भनेर अस्पताल निर्माण गर्न किन नसकिएको ? भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल जलनका बिरामीको शरीरका विभिन्न अंगहरूमा फरकफरक किसिमको जटिलता देखिने भएकाले जलनकै लागि मात्र भनेर अस्पताल निर्माण गर्न नसकिएको तर्क गर्छन् । 

उनी भन्छन्, ‘बिरामीलाई सरकारी अस्पतालका ‘बर्न युनिट’बाटै औषधोपचार गराउँदै आइरहेका छौँ । त्यहाँ उपचार सम्भव नहुने धेरै जलन भएका बिरामी छन् भने मात्र अन्यत्र पठाउने गरिएको छ ।’

निःशुल्क उपचार गर्ने सरकारको तयारी

सरकारले  विभिन्न कारणले जलेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने तयारी गरेको छ । यसअघि जलेर घाइते भएकाहरूलाई निश्चित रकम सहयोग गर्नेबारे छलफल गरे पनि हाल आएर जलनका बिरामीलाई राज्यले नै निःशुल्क उपचार गर्ने उद्देश्यअनुरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको छ । 

जसका लागि मन्त्रालयले एउटा कार्यविधि नै बनाएर लागू गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले जलेकाका बिरामीको निःशुल्क उपचारका लागि बनाइएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने डा. बुढाथाकीले जनाए । 

‘विभिन्न कारणले जलनमा परेर घाइतेलाई निःशुल्क उपचार गर्न तयारी गरिएको छ । त्यसको लागि एउटा कार्यविधिको खाका बनाएर अर्थ मन्त्रालय पठाइएको छ । सो पास भएर आयो भने जलनमा बिरामीले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउनुहुन्छ,’ डा. बुढाथोकीले भने । 

डा. बुढाथोकीका अनुसार अहिले बनाइएको कार्यविधिको खाकामा तत्काल प्रदेश र संघीय अस्पताललाई जलनका बिरामीलाई उपचार गर्न वार्षिक ५०–५० लाख रुपैयाँ छुट्याउने, हाल विशेष रूपमा जलनको उपचार गरिरहेको कीर्तिपुर अस्पताललाई एक करोड र त्यहाँको भौतिक संरचना बनाउन एक करोड गरी कुल लगभग ६ करोड रुपैयाँ छुट्याउने गरी कार्यविधिको खाका बनाइएको र यसको लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिदिए केही समयमा नै यो कार्यविधि पास भएर कार्यान्वयनमा जानेछ । 

विशेषगरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको मन्त्रालयका अधिकारी बताउँछन् । 

  • प्रकाशित मिति : ३० भदौ, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया