अढाई वर्षअघि नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भए । ३ फागुन २०७९ मा आफ्नै घरको ग्यास चुहावटपश्चात् आगलागी भएको थियो । जलनका कारण उनकी आमा हरिकलाको निधन भयो ।
देशमा उपलब्ध स्रोत र साधनले घाइते डा. भण्डारीको उपचार सहज हुने देखिएन । कीर्तिपुरको जलन उपचार अस्पतालले उनलाई यथाशीघ्र देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न सिफारिस गर्यो । सोहीअनुरूप उनी लामो समय भारतमा उपचार गराएर नेपाल फर्किए ।
१० जेठ २०८०, सदनमा उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका सांसद डा. भण्डारीलाई बोल्न समय दिइन् । उनका लागि १२ मिनेटको समयावधि तोकिएको थियो । तीन महिनाअघि उनले आफू दुर्घटनामा परेकै दिउँसो संसद्मा बोलेका थिए ।
त्यसबीचमा सांसद भण्डारी जीवन–मरणको दोसाँधमा पुगेका थिए । त्यसैले होला, उनी सम्बोधन गर्न रोष्ट्रमतर्फ उक्लँदै गर्दा सबैको ध्यान उनैमा केन्द्रित थियो । आधा दर्जन मर्यादापालकको सहयोगमा उनलाई त्यहाँसम्म पुर्याइएको थियो । सांसद डा. भण्डारी केही बेरको संघर्षपछि कुर्सीमा बसे । र, सानो स्वरमा बोल्न थाले– ‘मैले उपचार गराएको अस्पताल (भारत)का डाक्टरहरूले भनेअनुसार विगत तीन वर्षमा तीनजना मात्रै मानिस भेन्टिलेटरमा पुगेर बाँचेका रहेछन् । त्यसमध्ये म एउटा नेपाली । सौभाग्यले बाँचेर आएर बोल्दै छु ।’
उनले अगाडि भने, ‘मैले जुन परिवेश बेहोर्नुपर्यो, त्यो धेरै नेपालीहरूले भोग्नुपरिरहेको छ । गत वर्ष मेरी आमासहित एकसय ११ जनाले जलनकै कारण मृत्युवरण गर्नुपर्यो ।’ उनले काँपिरहेको आवाजमै सरकारसमक्ष थुप्रै प्रश्न र आग्रह गरे । उपसभामुखले पटक–पटक समय सकिएको जनाउ दिँदा पनि उनी रोकिएनन् । सुस्त आवाजमै भए पनि उनी करिब १८ मिनेटसम्म बोलिरहे ।
देशभरका जलनका बिरामीलाई नेपाल सुष्मा कोइराला मेमोरियल अस्पताल र कीर्तिपुर अस्पतालले थेगेको भन्दै उनले नेपालमा त्यस्ता अस्पताल अझै धेरै आवश्यक रहेको औँल्याए । र, आफ्नो लागि सरकारले गर्ने आर्थिक सहयोग अस्पताललाई नै प्रदान गर्ने घोषणा गरे ।
जटिल अवस्थामा जलन
नेपालमा जलनको समस्या जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलनमा पर्छन् । नेपालमा प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिड जलनका घटना हुने गरेको तथ्यांक छ ।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सन् २०२३ मा मात्रै ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । जलनको उपचार गर्ने अस्पतालको कमीका कारण घाइतेहरूले समयमा उपचार पाउन सकेका छैनन् । आगो, तातो तेल, विद्युतको करेन्ट, एसिड प्रहार, तातोपानी, तातो दूध वा अन्य तातो तरल पदार्थका कारण जलन भएका छन् ।
नेपालमा जलनको उपचारमा निकै सास्ती बेहोर्नुपरेको जगजाहेर नै छ । अस्पतालको कमीका कारण दुर्गम क्षेत्रका घाइतेले समयमा उपचार पाउन नसक्दा जीवनभर अंगभंग हुनुपर्ने तथा ज्यानै गुमाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था छ ।
कहाँ–कहाँ हुन्छ जलनको उपचार ?
हाल देशका आठवटा अस्पतालमा मात्र जलनको उपचार हुन्छ । यीमध्ये चारवटा अस्पताल त काठमाडौंमा मात्रै छन् । जलनको घाइतेको पूर्ण उपचार कीर्तिपुर, सुष्मा कोइराला मेमोरियलमा हुने गरेको छ । त्यस्तै, त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ । त्यहाँ छवटा शय्याको जलन विभाग छुट्याइएको छ । दुर्गमका नागरिकले जलनको उपचार गराउन निकै नै सास्ती बेहोर्नुपर्छ ।
कीर्तिपुर अस्पतालमा बर्सेनि छ सय बिरामी पुग्ने गर्छन् भने टिचिङमा तीन सय र सुष्मा मेमोरियलमा तीन सय बिरामी पुग्ने गरेको ती अस्पतालको तथ्यांकमा उल्लेख छ । जलनमा परेपछि अस्पताल आउनेमध्ये ९० प्रतिशतभन्दा बढी बिरामी काठमाडौंबाहिरका रहेको कीर्तिपुर बर्न अस्पतालको तथ्यांकले देखाउँछ । तत्काल प्राथमिक उपचार नपाउँदा बिरामीको अवस्था जटिल हुन गई उपचारमा पनि थप जटिल हुन सक्छ ।
जलनको उपचारका लागि काठमाडौंमै आउनुपर्ने बाध्यतालाई कम गर्न जलनकै लागि मात्र भनेर अस्पताल निर्माण गर्न किन नसकिएको ? भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल जलनका बिरामीको शरीरका विभिन्न अंगहरूमा फरकफरक किसिमको जटिलता देखिने भएकाले जलनकै लागि मात्र भनेर अस्पताल निर्माण गर्न नसकिएको तर्क गर्छन् ।
उनी भन्छन्, ‘बिरामीलाई सरकारी अस्पतालका ‘बर्न युनिट’बाटै औषधोपचार गराउँदै आइरहेका छौँ । त्यहाँ उपचार सम्भव नहुने धेरै जलन भएका बिरामी छन् भने मात्र अन्यत्र पठाउने गरिएको छ ।’
निःशुल्क उपचार गर्ने सरकारको तयारी
सरकारले विभिन्न कारणले जलेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने तयारी गरेको छ । यसअघि जलेर घाइते भएकाहरूलाई निश्चित रकम सहयोग गर्नेबारे छलफल गरे पनि हाल आएर जलनका बिरामीलाई राज्यले नै निःशुल्क उपचार गर्ने उद्देश्यअनुरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको छ ।
जसका लागि मन्त्रालयले एउटा कार्यविधि नै बनाएर लागू गर्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले जलेकाका बिरामीको निःशुल्क उपचारका लागि बनाइएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने डा. बुढाथाकीले जनाए ।
‘विभिन्न कारणले जलनमा परेर घाइतेलाई निःशुल्क उपचार गर्न तयारी गरिएको छ । त्यसको लागि एउटा कार्यविधिको खाका बनाएर अर्थ मन्त्रालय पठाइएको छ । सो पास भएर आयो भने जलनमा बिरामीले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउनुहुन्छ,’ डा. बुढाथोकीले भने ।
डा. बुढाथोकीका अनुसार अहिले बनाइएको कार्यविधिको खाकामा तत्काल प्रदेश र संघीय अस्पताललाई जलनका बिरामीलाई उपचार गर्न वार्षिक ५०–५० लाख रुपैयाँ छुट्याउने, हाल विशेष रूपमा जलनको उपचार गरिरहेको कीर्तिपुर अस्पताललाई एक करोड र त्यहाँको भौतिक संरचना बनाउन एक करोड गरी कुल लगभग ६ करोड रुपैयाँ छुट्याउने गरी कार्यविधिको खाका बनाइएको र यसको लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिदिए केही समयमा नै यो कार्यविधि पास भएर कार्यान्वयनमा जानेछ ।
विशेषगरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको मन्त्रालयका अधिकारी बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।