नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् ।
सोही स्पर्धामा नेपालकी रसिला तामाङले कांस्य जितिन् । रसिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौँ र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।