अविरल वर्षापछि पहिरो जाँदा डुम्रे-बेँसीसहर सडक अवरूद्ध भएको छ । आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुंगा माटोसहितको पहिरोले सडक अवरूद्ध भएको बताए । सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुंगा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उनको भनाइ छ ।
यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताए । ‘पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ’, उनले भने ।
यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौं पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।