logo-img

धार्मिक पर्यटकीय गन्तव्य बन्दै छाब्दीवाराही मन्दिर, एक वर्षमा ५ लाख भक्तजनद्वारा पूजाआजा

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा ५ लाख बढी भक्तजनले पूजाआजा गरेका छन् । छाब्दीवाराही विकास कोषको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा पाँच लाख बढी भक्तजनले मन्दिरमा पूजाआजाका साथै भ्रमण गरेका छन् । 

एक वर्ष अवधिमा ६५ जिल्लाबाट भक्तजन छाब्दीवाराही आएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । ‘कोषको तथ्याङ्कअनुसार पाँच लाख बढी भक्तजन यहाँ आएका छन्, ६५ जिल्लाबाट भक्तजनको आगमन भएको छ,’ उनले भने । 

छाब्दीवाराही मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ भक्तजन आउने गरेको थापाको भनाइ छ । मन्दिर हालै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष ४६ लाख गरी ७० लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । 

साउन महिना पूरै र प्रत्येक महिनाको एक दिन औँसी र दुई दिन एकादशीका दिन मन्दिरमा पूजाआजा बन्द हुने गरेको छ । छाब्दीवाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । 

मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबैखाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ । 

मन्दिरमा तीनजना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र औँसी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीबाराही मन्दिर पुग्न कालोपत्रे सडकको व्यवस्था छ । 
 
मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बली दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणको रूपमा रहेको छ ।



मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । 

गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । रासस  



  • प्रकाशित मिति : भदौ ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया