नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनआन्दोलनलाई संसदमा अवमूल्यन हुने गरी बहस हुनु दुखद भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरूबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैँमा दुखद कुरा भएको बताएका हुन् ।
उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र संविधानले सशस्त्र संर्घषको रूपमा परिभाषित गरेको छ । आन्दोलनहरूको योगदानलाई अवमूल्यन, अपमानित गर्ने गरी संसदमा बहस हुनु दुखद छ । सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरू १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरूमा हाम्रो तर्फबाट असहमति र आपत्ति रहेको कुरा जानकारी गराउँछु । यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु ।’
साथै उनले लाञ्छना र अपमानित गर्ने गरी १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रूपमा चित्रण गर्न नहुने बताए । उनले १० वर्षे द्वन्द्वलाई हिंसाको रूपमा हेरिनु आफैँमा अनुपयुक्त भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।