सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सातै जना सदस्यले हस्ताक्षर गरी प्रतिवेदनलाई अन्तिम रूप दिएका हुन् ।
हस्ताक्षरपछि समिति सभापति सूर्यबहादुर थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए । उनका अनुसार प्रतिवेदन, सुझाव, निष्कर्ष र सिफारिस सहित प्रतिवेदन १८ परिच्छेदमा तयार भएको छ ।
उनले भने, ‘हामीले ६६ वटा बैठक साढे तीन महिना नहुँदै सम्पन्न गरेका छौँ । गहन अध्ययन र सबै तथ्यहरू केलाउने काम हामीले यो बीचमा गरेका छौँ । सुझाव, निष्कर्ष र सिफारिससहित प्रतिवेदन १८ परिच्छेदमा रहेको छ ।’
उनले प्रतिवेदनले सिङ्गो सहकारी क्षेत्रलाई संकटबाट पुर्नउत्थान गर्ने र अपचलन गरेकाहरूलाई त्यसका निम्ति जबाफदेही बनाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आज हामीले यो प्रतिवेदन तयार गरेका छौँ । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुर्नउत्थान गर्ने, अगाडि बढाउने अपचलन गरेकाहरूलाई त्यसका निम्ति जबाफदेही बनाउने र सहकारी क्षेत्र जनताको हितसँग सम्बन्धित रहेर मार्ग निर्देशन गर्ने छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।