२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

कार्यकारी निर्देशकलाई हटाउन माग गर्दै प्रदर्शन जारी

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । 


आन्दोलनकै सिलसिलामा उनीहरूले आइतबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । झण्डै दुई सयजनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।



केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि पनि मन्त्री पौडेललाई भक्तपुरवासीले मागसहितको पत्र बुझाएका थिए । त्यसमा लामो समय बितिसक्दा पनि सुनुवाइ नभएपछि उनीहरूले आइतबार मन्त्रालयमै पुगेर पुनः ध्यानाकर्षण पत्र बुझाएका छन् ।



स्थानीयले मन्त्री पौडेललाई समस्या कहिले समाधान गर्ने भनेर प्रश्नसमेत गरेका थिए । सो क्रममा मन्त्रीले पौडेलले भने समस्या समाधान गर्न आफूले खोजिरहेको बताएका थिए । आन्दोलनकारीहरू अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई नहटाए स्थानीयबासीले नै हटाउने चेतावनी दिएका थिए ।

कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उनीहरुले कार्यकारी प्रमुखलाई अस्पताल प्रवेशमा रोक लगाउने तयारी गरेको जानकारी दिए ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।
आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै, तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा.पुकारचन्द्र श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि आन्दोलनकारी आक्रोशित छन् ।



६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

  • प्रकाशित मिति : ३१ भदौ, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया