हामी भारतको प्रवक्ता नबनौँः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको चीन भ्रमण सफल र महत्वपूर्ण भएको बताए । सो भ्रमणलाई दुवै देशका सरकारले उच्च महत्व दिएका बताउँदै मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल–चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कअन्तर्गत सीमापार रेलमार्गलगायतका पूर्वाधार विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएकोे जानकारी दिए । 

आगामी मेबाट नै तातोपानी नाका सञ्चालनमा आउने पनि मन्त्री ज्ञवालीले जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा औपचारिक रुपमा चीनमा भएका सात सम्झौताबारे जानकारी दिएपछि उपस्थित पत्रकारले परराष्ट्रमन्त्री ज्ञवालीलाई विभिन्न प्रश्न राखे । 

त्यहीमध्ये एक प्रश्न थियो, ‘चीनसँग यी सबै सम्झौता र सहमति हुँदै जाँदा भारततिरबाट कस्तो कम्पन आउने हो ?’

‘कम्पन ! तपाईंले कम्पन शब्द प्रयोग गर्नुभयो,’ परराष्ट्रमन्त्री ज्ञवाली थोरै हाँसे अनि जोडे, ‘यो तपाईंको काल्पनिक प्रश्न हो कि कसैले भनेको सुनेर तथ्यका आधारमा प्रश्न गर्नुभएको हो ?’

त्यसपछि ज्ञवाली अगाडि बढे, ‘साथीहरु, हामीहरु आफैँ कल्पना गर्ने, आफैँ तनाव लिने नगरौँ ।’ त्यसपछि फेरि एकपटक मुस्कुराएका मन्त्री ज्ञवालीले थपे, ‘हामीले सम्झौता गरिसकेका छौँ, अब भारतले के भन्ला भन्ने प्रश्न नै आउँदैन ।’

‘हामी उनीहरु (भारत)को प्रवक्ता नबनौँ,’ अघिसम्म मुसुमुसु हाँसिरहेका ज्ञवालीको आवाज अब अलिक चर्को सुनियो, ‘उनीहरुले लिनुपर्ने चिन्ता हामी नलिऔँ, उनीहरुले यस्तो सोच्लान् कि भनेर कल्पना गरेर हामी प्रश्न बनाउने, आफैँ त्यसमा चिन्तित हुने र त्यसबाट तनावमा नबसौँ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले हाइपोथोटिकल प्रश्न बनाएर केही नहुने पनि बताए । ‘पछिल्लो समय नेपाल अगाडि बढिरहेको छ, क्रसबोर्डर रेलवे सम्झौता हामीले भारतसँग गरिसकेका छौँ,’ उनले भने, ‘बिबिआइएल फ्रेमवर्कभित्र नै हामी छौँ, निरन्तर काम भइरहेका छन्, यी कामबारे कसैले केही भनेको छ भन्ने पनि लाग्दैन ।’



प्रधानमन्त्री भियतनाम र कम्बोडिया जाने

पत्रकार सम्मेलनमा नै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेको जानकारी गराए । प्रधानमन्त्रीले ९ मेदेखि १३ मेसम्म भियतनाम र १३ मेदेखि १५ मेसम्म कम्बोडियाको भ्रमण गर्ने जानकारी मन्त्री ज्ञवालीले दिए । 



भियतनाम र कम्बोडिया दुवै देशका समकक्षीसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने बताउँदै मन्त्री ज्ञावलीले भियतनाममा मनाइने वैशाख समारोह (बुद्ध पूर्णिमा)मा प्रधानमन्त्री ओलीले सम्बोधन समेत गर्ने जानकारी गराए । 

यी दुवै देश बौद्ध धर्मावलीको देश भएको र दुवै देशले पछिल्लो समय आर्थिक विकास राम्रो गरेकाले नेपालले दुवै देशबाट धेरै सिक्न सक्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।

  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १७:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया