२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

बिरामीलाई लाग्छ नर्स रुखा, नर्सका पनि आफ्नै दुःख [भिडियोसहित]

करिब दुई महिनाअघि थापाथलीस्थित रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २९ वर्षीया सीता बुढाले छोरालाई जन्म दिइन् । उनले सिजेरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति)मार्फत बच्चालाई जन्म दिएकी थिइन् । विभिन्न स्वास्थ्य अवस्था र जटिलताका कारण सीताले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी थिइन् । सीताका साथमा उनका श्रीमान् दीपेन्द्र त थिए । तर, साथमा महिला साथी नभएका कारण त्यस्तो अशक्त अवस्थामा पनि उनले नर्सको गाली खानुपर्यो । 


‘श्रीमान् साथमै हुनुहुन्थ्यो, तर साथमा महिला साथी भएको भए हुन्थ्यो जस्तो लाग्यो, त्योबेला । श्रीमान्ले मलाई हेर्ने कि सानो बाबुलाई दुविधा पथ्यो । सुरुको दिन त नर्सले सहयोग गर्नुभयो । तर, त्यसपछिका दिनमा भने झर्किन लाग्नुभयो,’ उनले अस्पताल बसाइको तितो अनभुव सुनाइन्, ‘नर्मल डेलिभरी भएको भए सायद मलाई सहारा चाहिन्थेन कि भन्ने लाग्छ । शल्यक्रिया गरेकाले गाह्रो हुन्थ्यो, हिँडडुल गर्न । सिस्टर (नर्स)ले भने हिँड्नु भनेर अह्राउनुहुन्थ्यो । नसकेपछि झर्किनुहुन्थ्यो ।’ सीताको मनोभाव बुझ्दा अस्पताल बसाइभर नर्सले आफ्नो ड्युटी त निभाइन्, तर बिरामीसँग राम्रो व्यवहार नगर्दा उनले सकस महसुस गरिन् । 



यस्तै, बुढानिलकण्ठकी राधिका कार्कीलाई सुत्केरी बेथाले च्यापेपछि आइतबार थापाथली ल्याइयो । अस्पताल पुगेको करिब चार घण्टापछि उनले छोरालाई जन्म दिइन् । समग्रमा राधिकाको नर्मल डेलिभरी भएको भए पनि उनी भने नर्सप्रति रुष्ट सुनिन्थिन् । ‘बेथा लागिरहेको बेलामा सिस्टरहरूले जोडले कराए । सिस्टरले कन्दा पाठेघरको मुख खुल्ने हुँदा लगातार बल गर्न भनिररहिन् । तर, मैले नसक्ने र गाह्रै भएको सुनाएपछि ‘दुःख हुन्छ भन्ने थाहा हुँदाहुँदै किन बनाएको त बच्चा’ समेत भन्न भ्याइन्,’ राधिका भन्छिन् । नर्सले डेलिभरीको समयमा धेरै कुरा भनेर रिसाएको भए पनि आफूलाई सबैभन्दा अप्रिय शब्द ‘यस्ताले बच्चा किन बनाउनु’ भन्ने लागेको राधिकाले सुनाइन् ।

राधिका र सीता त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै अन्य बिरामीले नेपालका सरकारी अस्पतालमा नर्सको रुखो व्यवहारबारे गुनासो गर्ने गरेको बेलाबखत सुन्दै आइरहेका हुन्छौँ । ‘कति नमिठो नर्सको बोली,’ ‘साह्रै छुची नर्स’ आदि इत्यादि नेपाली नर्सहरूले दिनहुँ जस्तो पाइरहने उपमा हुन् । तर, यहाँ सोच्नुपर्ने कुराचाहिँ के छ भने आखिर के कारणले नेपाली नर्सले त्यस्तो उपमा पाए त ? 



पुनम फार्सवानले स्टाफ नर्सको रूपमा ह्याम्स अस्पतालमा काम गरेको करिब दुई वर्ष भयो । उनी न बिदा पाउँछिन्, न समयमा खाना खान पाउँछिन् । २४सै घण्टा अस्पतालमा खट्नुपर्ने भएकाले घरमा समय दिन नपाएको उनी बताउँछिन् । छ महिना त उनले भोलेन्टियर नै गरिन् । अहिले तलब पाए पनि निकै कम छ । अस्पतालमा काम गर्ने वातावरण राम्रो भए पनि बिरामी तथा कुरुवाको भने नर्सलाई हेर्ने नजर राम्रो नरहेको उनको अनुभव छ ।

‘नर्सिङ पढ्दा खर्च पनि लाग्छ । साथै मिहिनेत गरेर पास भएर अब काम गर्छु भनेर अस्पतालमा आउँदा भने मन खिन्न हुन्छ । हामीले पाउने तलबदेखि अन्य सेवासुविधा एकदमै कम छन्,’ पुनम भन्छिन्, ‘यति हुँदाहुँदै पनि बिरामीको सेवामा खटिरहेका हुन्छौँ । कतिपय अवस्थामा हाम्रो गल्ती नभए पनि बिरामीदेखि कुरुवा र सिनियरसम्मको हप्कीदप्की सहनुपर्छ । हामी पनि मान्छे नै हौँ भनेर बिरामी तथा कुरुवाले बुझिदिनुपर्यो ।’  यहाँ राम्रो तलब र सेवा सुविधा नपाएकै कारण नर्सहरू विदेश जानुपरेको हो । यहीँ राम्रो भए विदेश जाने रहर कसलाई हुन्छ र ? पुनम भावुक सुनिन्छिन् । 

नर्सहरु रात–दिन नभनी खट्छन् । उनीहरूलाई चाडपर्व पनि आउँदैन । घरको कोही सदस्य बिरामी परे पनि समय दिन सक्दैनन् । कुनै दिन पनि बिदा हुँदैन । अरू दिन त परै जाओस्, सरकारी बिदा भएको दिनमा पनि बिदा नहुँदा खिन्न अनुभूति हुने धेरैजसो नर्सको अनुभव छ ।
 
कसरी बनाउने नर्सिङ सेवालाई मर्यादित ? 

पुनम त एक उदाहरण मात्रै हुन् । नेपालका अस्पतालमा काम गर्ने थुप्रै स्टाफ नर्सको अवस्था उनको जस्तै छ । स्टाफ नर्सका समस्या समाधानमा कुनै स्वास्थ्यमन्त्री र मन्त्रालयले ठोस कदम चालेको देखिँदैन । बिरामीको उपचारमा डाक्टरका साथै नर्सको पनि महत्वपूर्ण भूमिका हुन्छ । तर, उनीहरूको भूमिकाको उचित कदर नभएको सरोकारवाला बताउँछन् । 



बिरामीलाई बिरामीको रूपमा, कुरुवालाई कुरुवाकै रूपमा सेवा दिनुपर्यो । तर, एउटा नर्सले भावनामा बग्न नहुने पेडियाट्रिक नर्सिङ एसोसिएसन अफ नेपाल (पिनान)की अध्यक्ष अप्सरा पाण्डे बताउँछिन् । उनका अनुसार नर्सिङ अध्ययन तथा अध्यापनको क्रममा बिरामी तथा सेवाप्रदायकप्रति छुच्चो हुनुहुँदैन, दुव्र्यवहार गर्नुहुँदैन भनेर सिकाइएको, पढाइएको हुन्छ । बिरामी मान्छे त बिरामी नै हुन्छ । त्यसैगरी बिरामीको मान्छे पनि केही किसिमले पीडामा हुने हुँदा एउटा नर्सले सेवाप्रदायकप्रति सालीन हुनुपर्ने जनाउँछिन् ।

‘नर्स पनि मानिस नै हो । मानिसभित्र संवेदना हुन्छ । भावनामा विभिन्न पक्षले असर पारिरहेको हुन्छ । हामीकहाँ त्यस्ता धेरै मुद्दा छन् । हामीकहाँ नर्सिङ पढ्नका लागि पारिवारिक रूपमै साथ, सहयोग धेरै कम पाइन्छ,’ अध्यक्ष पाण्डे भन्छिन्, ‘साथै नर्सहरूको सधैँ एउटै खालको ड्युटी हुँदैन । अफआवरको पनि ड्युटी हुन्छ । नाइट सिफ्ट हुन्छ, रातिको समयमा कसरी अस्पताल र अस्पतालबाट घर जाने भन्ने प्रेसर छुट्टै हुन्छ । हामीकहाँ सुरक्षाका कुरामा पनि समस्या छ । नर्सको व्यवहार कस्तो हुने भन्ने कुरा काम गर्ने क्षेत्रको आन्तरिक व्यवस्थापनले पनि महत्व भूमिका खेल्छ ।’ 

उनका अनुसार एउटा नर्समाथि घरपरिवारदेखि अस्पतालसम्मको जिम्मेवारी हुन्छ । नर्सिङ पेसामा जाने महिलालाई घरपरिवारले धेरै साथ दिनुपर्छ । त्यसैगरी नर्समा चिडचिडापन नआओस्, बिरामीलाई शालीन र भद्र व्यवहार गरोस् भन्नका लागि आन्तरिक व्यवस्थापनको पनि महत्वपूर्ण भूमिका हुन्छ । काम गर्न नयाँ नर्स तथा जुनियर आइसकेपछि साथ, सहयोग भरपुर मात्रामा दिनुपर्छ । यसका साथै नर्सहरूलाई नियमित रूपमा तालिम तथा उच्च शिक्षाका लागि अभिप्रेरित गर्नुपर्ने उनको भनाइ छ । 

‘सरकारी अस्पतालको दाँजोमा निजीमा नर्सहरू कम तलबमा काम गर्न बाध्य छन् । जसलाई सरकारले सम्बोधन गरेर नर्सलाई कसरी सेवा, सुविधा थप्ने र सुरक्षाका लागि कस्तो व्यवस्था गर्न सकिन्छ । त्यसतर्फ पनि ध्यान दिँदा नर्सहरूमा आउने निराशा र त्यसले निम्त्याउने व्यवहार परिवर्तनमा कमी आउन सक्छ,’ अध्यक्ष पाण्डे भन्छिन् । 

  • प्रकाशित मिति : १ असोज, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया