नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न नसकिएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझैपनि विभाजन रहेको भन्दै उनले कतिपय कुरा कानुनी रूपमा समाधान भए तापनि अझै पनि व्यहारमा भने लागू हुन नसकेको बताए ।
उनले भने,‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जातजातिले बनेको देश हो यो । तर, अझै पनि विभाजन छ । इतिहासले गरेका गल्तीहरू अझै पनि समाधान गर्न सकिएको छैन । त्यसैले छुवाछुतलगायत कतिपय कुरा अझै पनि कानुनी रूपमा समाधान भए तापनि व्यवहारमा भने लागू भएको छैन ।’
उनले प्रजातन्त्रका लागि विद्यार्थीकालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिबद्धता जनाए । प्रजातन्त्र अझ कसरी मजबुत बनाएर अगाडि बढाउने र जनताप्रति अझ बढी जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले भने,‘हामी प्रजातन्त्रका लागि पहिलेदेखि नै लडेर आएको हो । विद्यार्थीकालदेखि नै जेलनेल सबै कुरा भोगेको पार्टी हो । प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन । यसलाई अझ कसरी मजबुत बनाउन अगाडि बढाउने र जनताप्रति अझ बढी जवाफदेही बनाउने कुरा आवश्यक छ ।’
सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनै पनि हालतमा नहट्ने स्पष्ट पारे । उनले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे ।
उनले भने,‘प्रदेश संरचना बनिसकेको छ । त्यसैले प्रदेश हट्ने कुराचाहिँ छैन । यसलाई हटाउन सकिने स्थिति पनि छैन । प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो । सधैँ कति समानुपातिकबाट ल्याउने ? त्यो समस्याचाहिँ छ । समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ । जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने वातावरण बन्दैन, तबसम्म समावेशी राजनीति आवश्यक छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।