logo-img

काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी, किसान उत्साहित

पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।   

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौंसम्म पनि उत्तिकै छ ।  

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मिहिनेत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । ‘अहिले प्रतिकिलो २५० देखि ३०० रुपैयाँका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु,’ उनले भने ।

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्ने पनि छन् । पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राई त्यसमध्येको एक हुन् । १० वर्षभन्दा बढी वैदेशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालन फर्म खोलेर कृषि कर्म गर्दै आएका छन् । 

‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ,’ राईले भने । २ लाख रुपैयाँ खर्च गरेर २ हजार ५ सय बिरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । 

यसअघि मकै, कोदो, आलुलगायत खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानले  सुनाए । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी गरेकी मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन् । 



जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार अकबरे खुर्सानीको खेती पहाडी जिल्लामा राम्रो हुने गरेको छ । रासस  



  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया