हिन्दु सनातन सभ्यतामा भाद्र शुक्लपक्षको पूर्णिमादेखि आश्विन कृष्णपक्षको दिनसम्मलाई पितृपक्ष अथवा सोह्रश्राद्ध भनिन्छ । खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औँसीसम्म १५ दिन र भाद्र शुक्ल पूर्णिमाको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो ।
श्राद्ध के हो ?
सामान्यतया ‘श्राद्ध’ शब्दको सामान्य अर्थ हुन्छ– श्रद्धापूर्वक गरिने कुनै पनि काम । मानिसले कसैप्रति श्रद्धा गरेर कुनै पनि काम गर्छ भने त्यसलाई श्राद्ध भन्दा फरक पर्दैन । तर, हिन्दु धर्मअनुसार पितृहरूको सम्झनामा गरिने कामलाई श्राद्ध भन्ने चलन छ । मृतआत्माको निमित्त गरिने काम हिन्दूहरूमा मात्र होइन, विश्वका सबै समुदायमा देख्न सकिन्छ । पाश्चात्य जगतमा स्मृतिदिवस भनेर मरेका मानिसलाई प्रतिवर्ष श्रद्धा गर्ने उद्देश्यले कार्यक्रम गरिन्छ । त्यो पनि एकप्रकारको श्राद्ध नै हो ।
सनातन सभ्यतामा एउटा भनाइ प्रसिद्ध छ– ‘देवताले दिएको पितृले हरण गर्दछन्’ अर्थात् कुनै भक्तबाट प्रसन्न भएर देवताले कुनै बरदान दिए र त्यसको फल भक्तले पायो, तर यदि उसले पितृलाई उसले खुसी बनाएको छैन भने देवताले दिएको फल पितृले खोस्छन् । त्यसैले कुनै कार्यमा सफल हुनका लागि देवकार्य मात्र गरेर पुग्दैन, पितृकार्य पनि गर्नुपर्दछ । जसरी मानिसलाई दैनिक भोजनको आवश्यकता पर्छ, त्यसरी नै पितृहरूलाई पनि दैनिक भोजन गराउनु सन्तानको कर्तव्य हो । मनुष्यको एक वर्षबराबर पितृहरूको एक दिन हुन्छ, त्यसैले सन्तानले वर्षमा एक दिन श्राद्ध गर्दा पितृहरूले दैनिक भोजन पाउँछन् र सन्तानका लागि आशीर्वाद दिन्छन् ।
पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन् । केही मानिस, जसलाई आफ्ना पितृहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनका लागि केही विशेष तिथिहरू निर्धारित गरिएको छ, जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।
प्रमुख तिथिहरू
आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध– यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भन्दछन् ।
आश्विन कृष्णपक्ष नवमी श्राद्ध– यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।
आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध– यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ, जसले सन्न्यास लिएको छ ।
आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध– यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ, जसको अकाल मृत्यु भएको छ, जस्तै– दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि ।
आश्विन कृष्णपक्ष अमावस्या– कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न बिघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ ।
आश्विन कृष्णपक्ष शुक्ल प्रतिपदा– यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ । यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।
पर्व अर्थात् औंसीमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिछ । प्रतिपदादेखि औँसीसम्मका पन्ध्र र पूर्णिमाको एकदिनलाई गरी सोह्र तिथि मानिएकाले यसमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।
वैदिक सनातन धर्मशास्त्रमा जिवात्माहरूको ८४ लाख जुनी हुने दाबी गरिएको छ । तीमध्ये सर्वोकृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यु भइसकेका जन्म दिने आमाबाबु तथा तीनपुस्ते दाजुभाइ र मावलीसहित समस्त पितृहरूलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पूरा गरिन्छ ।
पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । जसअनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फुपूहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटा मात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पिण्ड भनेको श्राद्धमा पितृकानाममा चढाइने भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्ड बटार्ने बेलामा जौ र तील पनि राखिन्छ ।
पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्न शास्त्रहरूमा निर्देश गरेको पाइन्छ ।
पुराणमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर, भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ । भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेलसम्म श्राद्धकर्मसमेत गर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिएलगत्तै नेपालीहरूको महान् चाड बडादसैँ सुरु हुन्छ ।
को हुन् पितृ ?
पितृहरू हाम्रा पूर्वजहरू हुन्, जसले हामीलाई जीवन, संस्कार र परम्परा दिएका छन् । हिन्दू दर्शनमा, मृत्युपश्चात् आत्मा देह त्यागेर पितृलोकमा गमन गर्छन् । ती आत्माहरूलाई पितृ भनिन्छ । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु, सम्मान गर्नु र उनीहरूको आत्माको शान्तिका लागि कर्म गर्नु सन्तानको कर्तव्य मानिन्छ ।
सोह्रश्राद्धमा पितृहरूको श्राद्ध किन गरिन्छ ?
पितृ पक्षमा पितृहरूले पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ । यस अवधिमा उनीहरूले आफ्ना सन्तानबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्महरूको अपेक्षा गर्छन् । पितृहरूको आत्मा सन्तुष्ट भएमा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने धारणा छ । असन्तुष्ट पितृहरूले परिवारमा विपत्ति, रोग र कष्ट ल्याउन सक्छन् भन्ने विश्वासले पनि यस अवधिमा श्राद्धकर्मको महत्व बढेको हो ।
तर शास्त्रीय विधिलाई अँगाले पनि आजभोलि समाजमा यो प्रथा केवल औपचारिकतामा सीमित हुन पुगेको छ । अन्तरमनदेखिकै श्रद्धाले गर्नु पर्ने श्राद्ध आजभोलि लोकलाजका कारण करले वा डरले गरिनु आफैँमा एउटा विडम्बना बन्न पुगेको छ ।
देवताहरूलाई मनले सम्झेर जे सामग्री छ सोही अर्पण हुन्छ, तर कुल पितृहरूको लागि निकै होसियारीपूर्वक शुद्धता हुनुपर्दछ । मांस मदिरा खाँदा प्रयोग गरिएका कपडाहरू लगाए भाँडामा पकाएको पिण्डबाट र यस्तै खाने कुरा खाएका ब्राह्मण वा पितृहरू रुष्ट हुन्छन् । श्राद्धको समयमा फलामद्वारा निर्मित भाँडा, वा अन्य कुनै वस्तु प्रयोग गर्नुहुँदैन । बेलपत्र, कोइरालो, कैलकी मालती, चम्पा र राता फूल चढाउनुहुँदैन । यदि चढाइयो भने त्यो पितृले लिँदैनन् भन्ने कुरा शास्त्रमा पाइन्छ। ब्राह्मण वचन पनि उत्तिकै शुद्ध हुनु आवश्यक छ ।
ब्राह्मण वा पण्डितको उपस्थितिबिना पूर्ण श्राद्ध गर्न त्यति सम्भव नभए तापनि नित्य तर्पण गर्न सकिन्छ । श्राद्ध गर्ने दिनभन्दा एक दिनअगाडि बिहान नै विधिपूर्वक दाही, केश र टाउकोको रौँ (पुरुषले मात्र) मुण्डन गरी शुद्ध खाना एक छाक खानुपर्दछ । हुन त सोह्र दिन नै शुद्ध खाना खाई बस्नुपर्दछ, नसके पनि आफूले श्राद्ध गर्ने दिन तिथि नआउन्जेल सधैँ शुद्ध खानु पर्छ । माछा–मासु, प्याज, लसुन, चिचिन्डो, कोदो, मसुरो, भण्टा, गोलभेँडा, भटमास खानुहुँदैन । ब्रह्मचर्य (श्रीमान–श्रीमति अलग अलग स्थानमा सुत्ने) नियम पालना गर्नुपर्छ । विधिपूर्वक स्नान सकेपछि पुरुषले यज्ञोपवित (जनै) फेर्नुपर्दछ ।
एकातिर श्रद्धाबिना गरिनु र अर्कातिर शास्त्रीय विधिलाई पनि तोडमरोड गरेर केवल औपचारिकता पूरा गर्ने प्रवृत्तिले श्राद्धको महत्व दिनानुदिन ह्रास हुँदै गएको देखिन्छ । यसको मुख्य कारण हो श्राद्धमा हुनु पर्ने पात्र र योग्यताको अभाव । कुनै उच्च ओहदा ग्रहण गर्दा जसरी व्यक्तिले सपथ ग्रहण गर्नु पर्दछ त्यस्तै गरी श्राद्धविधि (संकल्प) प्रतिज्ञा र सपथै–सपथबाट सम्पन्न हुन्छ । तर यो कर्म संस्कृत भाषामा लेखिएको हुँदा सबै श्राद्धकर्ताले त्यो भाषा बुझ्न र बोल्न जान्दैनन् । त्यसैले श्राद्धकर्ताले बोल्नुपर्ने वचन पुरोहितबाट बोल्न लगाइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।