‘फानी’ ओडिशा तट नजिक आइपुग्याे, नेपालमा पनि प्रभाव पर्न सक्ने

बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानी शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशा नजिक पुग्दै छ । आँधी करिब २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।

आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालिसकेको छ। भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म फानी ओडिशाको तटमा ल्यान्डफल हुनेछ । 

ओडिशा सरकारले मानवीय क्षती नहाेस भनेर तटीय इलाकाका ११ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारेकाे छ ।  

तुफान तटसम्म आउँदा १७५ देखि १८५ किलाेमिटर प्रतिघण्टाकाे वेगमा हुन सक्ने र समुद्रमा डेढ मिटरसम्मकाे लहर उठ्न सक्ने अनुमान गरिएकाे छ । 

ओडिशाकाे पुरीनजिक तटसँग ठाेक्किएपछि आँधि ओडिशा कै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ जाने र त्यहाँबाट बंगलादेश पुग्नेछ । माैसम विभागका अधिकारीका अनुसार जमिनकाे सम्पर्कमा आएपछि आँधीकाे तीव्रता कम हुनेछ । 

आँधीका कारण पुरीसहित अन्य क्षेत्रमा २४ घण्टासम्म धेरै वर्षा हुने सम्भावना रहेकाे माैसम विभागले जनाएकाे छ । 



उद्दार तथा बचाउ कार्यका लागि नेशनल डिजास्टर रेस्पाेन्स फाेर्स  र ओडिशा डिजास्टर र्यापिड एक्शन फाेर्स तैनाथ गरिएकाे छ । 

यता नेपालमा पनि फानीकाे प्रभाव पर्ने सक्ने अनुमान गरिएकाे छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले आँधी नेपालनजिकै हुँदै पश्चिम बंगालबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ। महाशाखाका अनुसार फानीको प्रभावका कारण शुक्रबार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।



फानी र पश्चिमी वायुको प्रभाव शनिबारपछि कमजोर हुने र आइतबारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

 


  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार ८:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया