काठमाडौँ– बहुमतप्राप्त सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर १ को नाम 'कोशी' राख्ने निर्णय गरेको छ ।
नेकपा भित्र पनि यसको नाम राख्न दुईथरी प्रस्ताव थिए। साविक एमाले सांसदहरू कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साविकका माओवादी सांसदहरू कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए ।
दुवैले आफ्ना आफ्ना अडान छोडेर कोशी नाम नै राख्ने सहमति जुटेको प्रदेश १ मन्त्रिपरिषद्का एक सदस्यले फरकधारलाई जानकारी दिए । मन्त्रीपरिषद्का ती सदस्यले भने,कोशी प्रदेश नाम हुने भयो। यसमा सहमति जुट्यो ।’
राजधानीको विषयमा अझै टुङ्गो लागिनसकेको उनको भनाई छ ।
राजधानीको विषयमा पनि विवाद उत्पन्न भएको छ । नेकपा मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन् । तर नेकपा भित्रकै सांसदहरु भने राजधानीलाई लिएर विभाजित छन् ।
तर प्रदेशमा विवाद बढेपछि नेकपाका नेताहरुले पार्टी केन्द्र र प्रधानमन्त्रीसँग समेत राय परामर्श लिनुपर्ने धारणा राखेका छन् । कतिपय सांसदहरुले 'इटहरी' राजधानी राख्न प्रस्ताव गरेका छन् । धनकुटाको विषयमा पनि व्यापक छलफल भएको छ ।
धनकुटालाई मुख्यन्त्रीको सम्पर्क कार्यालय राखेर धनकुटाको विवाद समाधानको प्रयास मुख्यमन्त्रीले गरेका छन्।
सम्पर्क राजधानीको धनकुटालाई राखेको विषयमा मुख्यमन्त्रीको आलोचना हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।