भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध आन्दोलनरत स्थानीयबासीले कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै अनियमितता, भ्रष्टाचार र मानव अंग तस्करीमा संलग्न भएको भन्दै डा.श्रेष्ठलाई कारवाही स्वरूपबर्खास्त गर्न माग गरिएको हो ।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिका तर्फबाट विष्णुकुमार पौड्याल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर उनको बर्खास्तगीको मागपत्र बुझाएका हुन् । उनीहरूले अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग पनि गरेका छन् ।
विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि आन्दोलनकै कार्यक्रम स्वरूप पत्र बुझाइएको सुवालको भनाइ छ ।
विगत १५ दिनदेखि अस्पतालको गेटअगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरूले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैरकानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवालाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतका माग राख्दै आएका थिए ।
आन्दोलनकै सिलसिलामा उनीहरूले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छन् । झण्डै दुई सयजनाको हस्ताक्षरसहित उनीहरूले केन्द्रमा रहेका बेथितिका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारले कार्यकारी निर्देशक डा.श्रेष्ठलाई तत्काल बर्खास्त नगरे अस्पताल प्रवेशमा रोक लगाउने र आन्दोलनकारीका तर्फबाट कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।