१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

ओझेलमा सूर्यबाबु, किन कृतघ्न भयो कांग्रेस ? (भिडियाेसहित)
नेपाली कांग्रेसका चार तारामध्येका एक सूर्यबाबु अर्थात् सूर्यप्रसाद उपाध्यायलाई कांग्रेसले किन ठानेन आफ्नो ?

नेपाली कांग्रेसलाई एउटा प्रश्न । बिर्सनुभयो, सूर्यप्रसाद उपाध्यायलाई ? आज कुरा, नेपाली कांग्रेसका ‘चार महान्’ हस्तीमध्येका एक पात्रको । कांग्रेसको झण्डामा चार तारा छन् । त्यसको आफ्नै अर्थ र महत्व छन् । त्यसको चर्चा छुट्टै हिसाबले गर्न सकिन्छ । कांग्रेस वृत्तमा चार संस्थापक नेतालाई चार ताराका रूपमा मान्ने गरिन्थ्यो ।यसको खुलासा संस्थापकमध्येका एक नेता किशुनजी अर्थात् कृष्णप्रसाद भट्टराईले गरेका थिए । चार नेता अर्थात् बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायमध्ये सूर्यप्रसादलाई चाहिँ कांग्रेसले पछि आएर किन गर्यो ‘अछुत’को व्यवहार ? 


को थिए, सूर्यबाबु ? जसको निधनको चार दशक बितिसक्दा पनि कांग्रेस राजनीतिभित्र अझै पनि उनको चर्चा हुने गर्छ । सुरुवाती दिनमा बिपीका अत्यन्त प्रिय पात्र सूर्यबाबुको बिपीसँग नै किन बढ्यो दूरी ? उनलाई कहिले भारत त कहिले दरबारको प्यादा भनेर आरोप लागिरह्यो, किन ? कांग्रेसले किन उनको तस्बिरलाई आफ्नो कार्यालयमा टाँस्न आवश्यक ठानेन ? उनलाई नेता मान्नबाट कांग्रेस किन पर–पर भागिरह्यो ?



कांग्रेसको देश–विदेशका कार्यालयमा बिपीको तस्बिर हुनु स्वाभाविक हो । किनकि बिपीलाई कांग्रेसले मानव मात्र होइन, ‘महामानव’ कै रूपमा मान्ने गरेको छ । कति कांग्रेसजनले त उनलाई ईश्वरकै दर्जामा राखेर पुज्छन् पनि बिपीपछिका अर्का तारा सुवर्णशमशेर पनि निकै लामो समयसम्म कांग्रेसभित्र परित्यक्त थिए । २०४६ सालको राजनीतिक परिवर्तनको धेरैपछि मात्र सुवर्णशमशेरको तस्बिर कांग्रेस कार्यालयमा स्थापित भयो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपश्चात् कांग्रेसले आफ्नो कार्यालयमा उनीहरूको तस्बिर टाँगेको छ । तर, सूर्यबाबु बितेको आज ४० बर्ष बितिसक्दा पनि उनको एक थान तस्बिरले किन पाउन सकेन कांग्रेस कार्यालयमा स्थान ? 



किन होला ? कांग्रेस नेता डा.केदारनरसिंह केसी पार्टी अफिसमा सूर्यबाबुको फोटो टाँस्ने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई दिएको बताउँछन् । 

त्यो आश्वासन न हो, कार्यान्वयनको के भर भो र !

२०४१ सालमा सूर्यबाबुको निधनपश्चात् स्वयं कृष्णप्रसाद भट्टराईले उनलाई कांग्रेसका ‘चार महान्’मध्येका एक भनेर संज्ञा दिएका थिए । आर्यघाटमा उनको अन्तिम संस्कार हुँदा तत्कालीन नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले पार्थिव शरीरलाई बोकेर चितासम्म पुर्याएका थिए । दलहरू प्रतिबन्धित रहेको त्यो कठिन समयमा चारतारे झण्डा प्रदर्शन गर्नु पनि गम्भीर अपराध मानिन्थ्यो । त्यस्तो बेला जोखिम मोलेर मंगलादेवी सिंह र पिएल सिंहले आर्यघाटसम्म कांग्रेसको झण्डा पुर्याएका थिए । सूर्यबाबुको शवमाथि चारतारे झण्डा ओढाएर तत्कालीन नेतात्रयले सम्मान दिएका थिए । त्यति हुँदाहुदै पनि सूर्यबाबुलाई नचिनेको व्यवहार कांग्रेसले गरिरह्यो । गरिरहेको छ ।
 
संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे सूर्यबाबुमाथि कांग्रेसले अन्याय गरेको स्विकार्छन् । पाण्डेले हालै आयोजित एक कार्यक्रममा निकै मार्मिक अभिव्यक्ति दिए । ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नुभयो,’ पाण्डे भावुक सुनिए,‘अरू नेताहरू भने शिरमा राख्न मिल्नेगरी रहनुभयो, उहाँ कसरी छुट्नुभयाे भन्ने कुरा एउटा गम्भीर समीक्षा हो ।’ 

२००७ सालको क्रान्तिको कांग्रेसको पहिलो पुस्ता नेपाली राजनीतिको संघर्ष र परिवर्तनको निर्णायक पुस्ता थियो । २००७ सालका क्रान्तिका अग्रज टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइराला र डाक्टर केआई सिंह कांग्रेसमा टिकेनन् । मातृकाको बहिर्गमनपछि कांग्रेसमा बिपी, सुवर्ण, गणेशमान सिंह र सूर्यबाबुको सामूहिक नेतृत्व स्थापित भयो । यसैले यी चार नेतालाई कांग्रेसका ‘चार तारा’ पनि भनियो । ‘चार महान्’को संज्ञा पनि दिइयो । ‘चार स्तम्भ’ पनि भनियो । यी चार नेताको एकता नै कांग्रेस हो भन्ने स्वीकार पनि गरियो ।



महामुनिश्वर आचार्यको संयोजनमा प्रकाशित ‘प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व, सूर्यप्रसाद उपाध्याय’ पुस्तकमा सूर्यबाबुलाई चाणक्य र दूरदृष्टियुक्त नेताको रूपमा उल्लेख गरिएको छ । 

आचार्यले पुस्तकको भूमिकामा लेखेका छन्–

‘२००७ सालको क्रान्तिको सफलतापछि मोहनशमशेर राणाको प्रधानमन्त्रीत्वमा गठित पहिलो मन्त्रीमण्डलमा सहभागी नबनाइए पनि पुर्नगठित मन्त्रिमण्डलमा उहाँ खाद्य र कृषि मन्त्री हुनुभयो । २००८ मंसिर १ मा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारको तेस्रो वरियतामा गृह तथा खाद्य मन्त्री हुनुभयो । उहाँ नेपाली कांग्रेसको ४ महान् (स्तम्भ)बिपी,सुवर्ण,सूर्यबाबु र गणेशमानमध्य एक हुनुहुन्थ्यो । नेपाली राजनीतिमा चाणक्यको उपाधि पाउनुभएका उपाध्याय साँच्चिकै दूरदृष्टि भएको राजनेताका रुपमा शुरुदेखि मृत्युपर्यन्त रहनुभयो ।’ 

सूर्यबाबु २०१५ सालको पहिलो आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ र रामेछाप १४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार भए । कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । तर, सूर्यप्रसाद पराजित हुन पुगे । बिपी प्रधानमन्त्री बने । आफ्नो मन्त्रिमण्डलमा सूर्यबाबुको आवश्यकता बोध गरेर बिपीले उनलाई महासभाको सदस्य बनाएर गृह तथा कानुनमन्त्रीको महत्वपूर्ण जिम्मेवारी दिए । 

२०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र खोसेपछि बिपीसहित सूर्यबाबु पनि गिरफ्तार भए । तर, कारागर पुगेको नौ महिनापछि उनी राजाबाट मुक्त गरिए । अरू जेलमै रहेका बेला उनी जेलबाट छुटे । यही विन्दुबाट सूर्यबाबुमाथि दरबारको प्यादादेखि भारतको एजेन्टसम्मको लान्छना लगाइयो । राजा महेन्द्रको आवश्यकताले सूर्यबाबुको रिहाइ भएको कोही बुझ्न चाहँदैनथ्यो, त्यसबेला । राजाले विभिन्न पदको प्रस्ताव राख्दा पनि आफ्ना नेता तथा कार्यकर्तालाई जेलमा राखेर आफूले कुनै पद नलिने अडान राजासमक्ष राखिरहने उनै सूर्यबाबु थिए ।  समन्वयकारी व्यक्तित्व र क्षमतालाई सूर्यबाबुले प्रजातन्त्र र पार्टीका लागि समर्पित रहिरहे । उनले भारत वा दरबारलाई प्रयोग गरेर आफूले केही लिएनन् । 

राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष तथा राप्रपाका नेता नवराज सुवेदीले सूर्यबाबुलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर राजा महेन्द्रले आफूलाई पठाएको, तर उनले बिपीसहित सबै राजनीतिकर्मीको जेलमुक्ति र विदेशमा रहेका कांग्रेसका साथीहरूलाई आममाफी भएमा मात्रै आफू प्रधानमन्त्री हुने नत्र असम्भव रहेको प्रत्युत्तर दिएको सम्झिन्छन् ।  जेलबाट छुटेपछि सूर्यबाबुले मेलमिलापको सिद्धान्तलाई अघि सारे । 

२०१९ जेठ २४ मा राजा महेन्द्रबाट आयोजना गरिएको बुद्धिजीवी सम्मेलनमा सूर्यबाबुलाई महत्वका साथ बोलाइयो । उनले त्यहाँ ‘राजा र प्रजातन्त्रवादीहरू एक ठाउँमा उभिए मात्र नेपालको राजनीति अघि बढ्न सहज हुन्छ’ भनेर हाकाहाकी बोले । यसका लागि वातावरण बनाउन मौलिक अधिकार, राजबन्दीहरूको रिहाइलगायत कुरामा राजाले पहल गर्नुपर्ने उनको अडान थियो । उनले प्रजातान्त्रिक हक अधिकारको पुनस्र्थापनाका लागि राष्ट्रिय शक्तिबीच एकताको वकालत गरे । त्यहीँबाट सुरु भएको थियो– मेलमिलापको नीति । 

हिंसात्मक संघर्षको पक्षमा उनी कहिल्यै रहेनन् । सायद यही कारण हुनसक्छ, २०१८ सालमा सुवर्णशमशेरले सुरु गरेको सशस्त्र विद्रोह र २०३१ सालमा बिपीको निर्देशनमा भएको सशस्त्र विद्रोहको सूर्यबाबु कठोर आलोचक रहे । यहीँबाट दुवै नेतासँग सूर्यबाबुको दूरी बढ्दै गयो । 

२०२५ सालमा सुवर्णशमशेर र २०३३ मा बिपीको राष्ट्रिय मेलमिलापको नीतिभन्दा अघि नै सूर्यबाबुले २०१९ देखि नै त्यही धारणा अघि सार्दै आएका थिए । अर्थात् सूर्यबाबुकै मेलमिलापको नीतिमा सुवर्णशमशेर ६ वर्षपछि र १४ वर्षपछि बिपी सहमत हुन कर लाग्यो ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल सूर्यबाबुको बहुआयामिक व्यक्तित्वको प्रभाव नेपाली राजनीतिमा अझै पनि रहेको सुनाउँछन् । सूर्यबाबु व्यक्तिगत र वैचारिक दुवै रूपले जवाहरलाल नेहरू र इन्दिरा गान्धीको नजिक थिए । बिपी भने जयप्रकाश नारायणदेखि राममनोहर लोहियालगायत समाजवादीसँग नजिक पुगे । भारत स्वतन्त्रता आन्दोलनमा नेहरू र जयप्रकाशसँगै भए पनि स्वतन्त्र भारतमा उनीहरू एक अर्काका राजनीतिक विरोधी हुन पुगे । बिपी एउटा धुव्रमा रहे भने सूर्यबाबु अर्को धुव्रमा । इन्दिरा गान्धीसँग व्यक्तिगत रूपमा निकै राम्रो सम्बन्ध थियो, सूर्यबाबुको । त्यही जयप्रकाशहरूको समाजवादी समूहलाई इन्दिरा गान्धी भने पटक्कै मन नपराउने । 

बिपीजस्तै सूर्यबाबु पनि भारतीय स्वतन्त्रता संग्राममा त्यहीँको जेलमा रहे । त्यहीक्रममा उनको संगत सुप्रसिद्ध कांग्रेस नेता रफि अहमद किदवईसँग भयो । पछि किदवईमार्फत नेहरूसँग राम्रो सम्बन्ध कायम भयो । स्वाभाविक रूपमा नेहरूकी छोरी इन्दिरा गान्धीसँग सूर्यबाबुको निकट सम्बन्ध कायम भयो । 

उता, बिपी भारतीय कांग्रेसका नेता डा. राजेन्द्रप्रसादसँग जेल बसे । पछि गएर आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र चन्द्रशेखरजस्ता समाजवादी धारका नेतासँग हिमचिम बढ्यो । व्यक्तिगत सम्बन्धकै कुरा गर्ने हो भने सूर्यबाबुको भारतीय कांग्रेसको नेहरू इन्दिरा पक्षसँग जति सम्बन्ध थियो, बिपीको समाजवादीसँग त्योभन्दा बढी अन्तरंग सम्बन्ध थियो । 

भारतमा शरण परेका बिपीलाई प्रधानमन्त्री भएको बेला उनै इन्दिरा गान्धीले कुनातिर ठेल्दै लगिन् । यस्तो स्थितिमा भारतमा बसेर इन्दिरालाई रानी मान्नुभन्दा नेपाल पुगेर आफ्नै राजालाई मान्छु भन्ने ठाने, बिपीले । नौ वर्षको निर्वासित जीवन बिताएपछि २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा दिएर बिपी नेपाल फर्किए ।  नेपाल फर्किएपछि पनि बिपी र सूर्यबाबुबीच हार्दिक सम्बन्ध रहन सकेन । एक किसिमको दूरी बनिरह्यो ।

कतिसम्म भने कांग्रेसले २०३६ सालको जनमत संग्रहताका सूर्यबाबुलाई आफ्नो निकटमै आउन दिएन । कांग्रेसलगायत सम्पूर्ण प्रजातन्त्रवादीको नेतृत्व गर्न आग्रह गर्दा पनि बिपीले अस्वीकार गरे । त्यहीबेलादेखि कांग्रेस र सूर्यबाबुको दूरी बढेकोबढ्यै भयो । बिडम्बना ! त्यो दूरी उनीहरू दुवै स्वर्गीय भइसकेपछि अर्थात् अझै पनि कायम नै रह्यो ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसी सूर्यबाबु अलि ओझेलमा परेको आफूलाई महसुस भएको सुनाउँछन । भन्छन्,‘सूर्यबाबुजस्तो राजनीतिज्ञलाई कांग्रेसले कदर गरेन  भने कृतघ्नता हुनेछ, मृत आत्मालाई धोका दिन हुन्न ।’ 

के केसीले भनेझैँ कांग्रेस नेतृत्व सूर्यबाबुप्रति अझै पनि कृतघ्न नै बनिरहने हो ?

२०३३ सालपछि मुलुकमा प्रत्यागमनपछि बिपीलाई भयंकर फौजदारी अभियोग र ‘फाँसी दे’ भन्ने स्याल हुइयाँका बीच रिहा र औषधोपचारको व्यवस्था पनि सूर्यप्रसाद उपाध्यायको अत्यन्तै चुस्त एवं चतुर चालका कारण सम्भव भएको हो भन्ने ठान्छन्,राजधानी दैनिकका सम्पादक तथा राजनीतिक विश्लेषक सरोज मिश्र । 

मिश्रले ३ चैत २०८० मा राजधानीमा लेखेको‘एन्जेल्सहरुका ‘खलनायक’–सूर्यप्रसाद उपाध्याय शिर्षक लेखमा भनेका छन्- ‘डा. मृगेन्द्रराज पाण्डेबाट संकेत पाएपछि डा. मधुले बीपीको गम्भीर स्वास्थ्य स्थितिको एउटा रिपोर्ट तयार पार्नुभयो,डा. पाण्डेलाई राजासमक्ष बीपीको अवस्था जाहेर गर्न तत्कालीन प्रधानमन्त्री तुलसी गिरी र अन्य दरबारियाहरूले रोकेको प्रतीत भएको रहेछ ।’

मिश्र सम्झिन्छन्,‘डा. घिमिरे आफ्ना दाजु स्वर्गीय शंकर घिमिरेका साथ पहिले त्यो रिपोर्ट लिएर त्यसबेला बीपीको विश्वासपात्र मानिएका अधिवक्ता गणेशराज शर्माकहाँ जानुभएछ । शर्माले त ‘तिमीहरू कुरो बिगार्न आएको ? स्याबोटेज गर्ने ? तुलसी गिरीले बीपीलाई छोडाउँदै छन्’ भन्दै हपारेर पठाइदिएछन् ।’

मिश्रले आफ्नो उक्त लेखमा उल्लेख गरेअनुसार,‘घिमिरे दाजुभाइ त्यसपछि सूर्यबाबुकहाँ पुगे । शंकर घिमिरेको सूर्यबाबुसँग घनिष्ठ सम्बन्ध थियो । सो रिपोर्ट पढ्नेबित्तिकै सूर्यबाबुले त्यसको झन्डै ५० प्रतिलिपि बनाएर खाममा हाल्दै आफैंले प्रापकको नाम लेखेर बाँड्न लगाउनुभयो । प्रापकहरूमा नेपालस्थित विदेशी दूतावासका अधिकारीहरू पनि थिए । सम्भवतः कैयनसँग उहाँले टेलिफोनमार्फत कुराकानी पनि गर्नुभयो । त्यो रिपोर्ट कहाँकहाँ पुग्योपुग्यो ! पटनामा देवेन्द्रप्रसाद सिंहको निवासमा रहेका गिरिजाप्रसाद कोइरालाकहाँ पनि पुगेछ । त्यत्तिकैमा भारतीय प्रधानमन्त्रीकहाँबाट गिरिजाबाबुको खोजीसमेत भएछ । भोलिपल्ट साँझसम्ममा दरबारमा दुई महत्वपूर्ण विदेशी सरकार प्रमुखहरूबाट बीपीको गम्भीर स्वास्थ स्थितिप्रति चासो व्यक्त गर्दै सन्देश प्राप्त भएछ । ती दुई महानुभावहरू थिए– बेलायती प्रधानमन्त्री जेम्स कालाघान र भारतीय प्रधानमन्त्री मोरारजी देसाई । त्यसै रात बीपीलाई दरबारमा बोलाइयो र रिहाइ मात्र भएन, औषधोपचारको व्यवस्थासमेत भयो । यस्ता थिए सूर्यप्रसाद उपाध्याय ।’
 

  • प्रकाशित मिति : ४ असोज, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया