गत भदौको अन्तिमतिर आइसिसी विश्वकप लिग–२ सिरिज खेल्न क्यानडा उड्नुअघि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले भनेका थिए, ‘घरेलु मैदानमा राम्रो गर्न सकेनौं, अब विदेशमा राम्रो गर्छौँ ।’ तर, प्रशिक्षकको उक्त भनाइअनुसार टिमले भने नतिजा निकाल्न सकेको छैन ।
बरु नेपालको प्रदर्शन झन् बिजोग छ । जारी क्यानडा श्रृंखलामा नेपालले तीन म्याच खेलिसकेको छ । तर, जितको खाता खोल्न सकेको छैन । तीनै खेलमा नेपाल हार्नुको प्रमुख कारण खराब ब्याटिङलाई औँल्याइएको छ ।
हुन पनि हो यस श्रृंखलामा नेपालको ब्याटिङ अवस्था दयनीय नै छ । यस्तो स्थिति आउनुमा प्रमुख ब्याटरको खराब लय हो । क्यानडा श्रृंखलामा तेस्रो नम्बरसम्मका ब्याटरले एउटा खेलमा पनि २५ भन्दामाथिको स्कोर बनाउन सकेका छैनन् । पहिलो खेलमा ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख प्रयोग भए । त्यस खेलमा कुशल एक र आसिफ २० रनमा पवेलियन फर्किए ।
१ सय ३ रनले पराजित भएको उक्त खेलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमै अलआउट भयो । पहिलो खेलमा फ्लप भएपछि मुख्य प्रशक्षिक देसाईले कुशललाई विश्राम दिएर ओपनिङमा आसिफ शेख र अर्जुन साउदलाई प्रयोग गरे । तर, प्रशिक्षकको त्यो योजना पनि खेर गर्यो ।
दोस्रो खेलमा अर्जुन पाँच र आसिफ ११ रनमै आउट भए । ओमानसँगको सो खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । तर, त्यो स्कोर जितका लागि पर्याप्त भएन ।
उक्त खेलमा नेपाल एक विकेटले पराजित भयो । लगातार दोस्रो हारका बाबजुद तेस्रो खेलमा ओपनिङमा अर्जुन–आसिफकै जोडीले निरन्तरता पायो । यस खेलमा अर्जुन १० र आसिफ दुई रनमै आउट । उनीहरू मात्र होइन भीम सार्की, अनिलकुमार साह र आरिफ शेखले पनि ठूलो पारी खेल्न सकिरहेका छन् ।
विगतमा टोलीका प्रमुख खेलाडी मानिने कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पछिल्लो दुई खेलयता बेन्चमा सीमित छन् । प्रमुख ब्याटरहरू सुपरफ्लप भइरहँदा बलरले भने राम्रो ब्याटिङ गरेका छन् ।
यस सिरिजमा ब्याटिङबाट कसैले प्रभावित पारेका छन् त ती हुन्, गुलशनकुमार झा र सन्दीप लामिछाने । गुलशनले पहिलो खेलमा १५ रन बनाउनुका साथै एक विकेट लिए । उनले दोस्रो खेलमा करियरकै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे ।
ओमानसँगको उक्त खेलमा उनले ३५ बलमा ५३ रनको आक्रामक पारी खेले । यस्तै, उनले १० ओभरमा २ मेडनसहित ४७ रन दिएर ५ विकेट लिए । टिम पराजितका बाबजुद गुलशन ओमानविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
उनले तेस्रो खेलमा पनि टिमलाई जित दिलाउन पूरा कोसिस गरे । सोमबार बिहान सम्पन्न क्यानडासँगको खेलमा उनले ब्याटिङमा ३४ रन बनाउँदा बलिङमा एक विकेट लिए ।
यस्तै, सन्दीपले पनि जारी श्रृंखलामा अलराउन्ड प्रदर्शन गरिरहेका छन् । उनले पहिलो खेलमा २२ रन बनाउनुका साथै एक विकेट लिए । यस्तै, सन्दीपले दोस्रो खेलमा अविजित ११ रन जोड्दा एक विकेट हात पारे ।
तेस्रो खेलमा उनले ४८ बलमा सर्वाधिक ४९ रनको पारी खेले । यस खेलमा सन्दीपले २ विकेटसमेत लिए । जारी श्रृंखलामा अपेक्षाकृत बलिङ गर्न नसके पनि करण केसी र सोमपाल कामीले पनि राम्रो ब्याटिङ गरिरहेका छन् ।
आगामी खेलमा टिम ब्याटिङमा पनि बलरमाथि भर पर्ने हो भने नेपालले थप खराब नतिजा निकाल्ने सम्भावना बलियो छ, त्यसकारण प्रमुख ब्याटरले छिटो लय समात्न आवश्यक छ ।
अन्यथा नेपाललाई आगामी दिनमा ठूलो झड्का लाग्न सक्छ । नेपालले अब मंगलबार ओमानसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।