[अन्तर्वार्ता] लोकगीत आत्माकाे लय हो, त्यो लय मैले भेट्टाएँ : लोकगायक कमलीकान्त भेटुवाल

चर्चित लोकगायक कमलीकान्त भेटुवालको ‘झम्के गुलेली’ गीत लोकप्रिय छ । संखुवासभामा जन्मिएका उनी गाउँ–गाउँ डुलेर, भिरपाखामा पुगेर लोकगीतका शब्द संकलन गर्ने गर्छन् । उनका ४ वटा एल्बम बजारमा आइसकेका छन् भने २ वटा एल्बमको तयारी गर्दै छन् । उनी आफ्नो गीतमा प्रायः आफैँ संगीत भर्छन् । ‘लोकगीतमा बहुभाषाको प्रयोग किन र कसरी ?’ विषयमा विद्यावारिधि गर्दै गरेका भेटुवाललाई फरकधारका रमेश दवाडीले सात प्रश्न गरेका छन् :

लोकगीतमा कसरी आकर्षित हुनुभयो ? 

घर–परिवारको वातावरणबाट म लोकसंगीतप्रति आकर्षित भएँ । म सानै हुँदादेखि घरमा भजनलगायत सांगीतिक कार्यक्रम हुन्थ्यो । सानोमा विशेषगरी रेडियो नेपालबाट बज्ने लोकगीतहरू सुन्ने गर्थें । जात्रा–मात्रामा, गाउँघरमा बिहे, पूजा–आजा पर्दा गाइने भाकाहरूले पनि मलाई छुन्थ्यो । त्यसरी नै गाउन पाए कति रमाइलो हुन्थ्यो होला भन्ने सम्झिन्थेँ । यसरी नै क्रमशः गीत–संगीतप्रति आकर्षित हुँदै गएँ । 

‘लोकगीतमा बहुभाषाको प्रयोग किन र कसरी ?’ भन्ने विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । यो विषय नै किन रोज्नुभयो ? 

अहिलेको समय गतिशील समय हो । विश्वव्यापीकरणको समय हो । जहाँ एकल भाषाले मात्रै यो सामाजिक यथार्थलाई प्रतिनिधित्व गर्न सक्दैन । जस्तै: एउटा कक्षा–कोठामा धेरै विद्यार्थी हुन्छन् । उनीहरू विभिन्न भाषा बोल्ने हुन्छन् । एउटा समाजमा पनि विभिन्न भाषा बोल्ने मान्छे हुन्छन् । त्यसकारण लोकगीतमा भाषागत मिसावट अवश्य हुँदो रहेछ । किनभने विविध भाषाले आपसमा एकात्मकता ल्याउँछ । मेलमिलाप ल्याउँछ । समझदारी ल्याउँछ । एकले अर्कालाई बुझ्न र चिन्न सजिलो हुन्छ । जस्तैः हिन्दी भाषामा नेपाली मिसाइयो भने, बाहिरबाट आएको भाषा नेपालीमा आयो भने नेपाली भाषा पनि अझ धनी हुन्छ । देश–देशबीचको सांस्कृतिक सम्बन्ध पनि बलियो हुन्छ । 

लोकगीत र समाजबीच के सम्बन्ध छ ? 



लोकगीत गाउने, लोकगीतलाई माया गर्नेले समाज बुझेको हुन्छ । समाज पढ्छ । समाजसँग सम्बन्ध गाँस्न सक्छ । बुबा र छोराको सम्बन्धजस्तै यसमा एकदम अन्योन्याश्रित सम्बन्ध छ । समाज र लोकगीत एक–अर्काका परिपूरक हुन् । समाजबाट आएका लोकगीतले समाजको प्रतिनिधित्व गर्छन् । कुन समाज कसरी बोलेको छ, कसरी गुनगुनाएको छ, कसरी भक्कानिएको छ, कसरी दुःखी छ र कसरी खुसी छ भन्ने कुरा लोकगीतमार्फत उद्घोष हुन्छ । 

लोकसर्जक ‘कोठे सर्जक’ भए भन्ने आरोप छ । यसबारे तपाईं के भन्नुहुन्छ ? 



म पूर्वी पहाडको, उच्च हिमाली जिल्ला संखुवासभाको, पहाड–पखेराबाट, उकाली–ओराली गरेको मान्छे । त्यही भएर पनि होला, गाउँकै याद आउँछ । गाउँमा ठाउँ विशेष, वनपाखा विशेषका कुरा गर्छौं । मन त्यही ठाउँमा पुग्छ । त्यो ठाउँकै सपना देखिन्छ । जन्मेको, हुर्केको, बढेको, पढेको हुनाले पनि मेरो गीतचाहिँ विशेषगरी गाउँकै हुन्छ । 

झम्के गुलेली गीतले तपाईंलाई चिनायो । यस गीतबारे केही बताइदिनुहुन्छ कि ? 

यो अत्यन्तै सरल, सरस, र सहज रूपमा ग्रामीण परिवेशमा गाइएको भाका हो । यो छुट्टै पहिचान बोकेको भाका हो । यो भाकाका शब्दहरू बुझिने छ । ठाउँका कुराहरू गरिएको छ । माया–पिरतीका कुरा गरिएको छ । गीतमा व्यक्त गरिएका शब्दहरू र मीठो गलामा सजाउनाले पनि गीत मनपराइएको हो किजस्तो लाग्छ ।

यो गीत कसरी संकलन गर्नुभयो ? 

यो गीतको शब्द–संकलनको पक्ष एकदम अनौठो छ । यस गीतको मूल सर्जक (झम्के गुलेली) उमापति अधिकारी हामीसामु हुनुहुन्न । मैले भेट्न पनि सकिनँ । उहाँका आफन्तहरूले, मेरै बुबा, आमा, मामाहरू, दाइहरूले ‘ल है यस्तो गीत पनि छ, एउटा बुढाले गाउँथे’, भनेर भन्नुभयो । को हुनुहुँदो रहेछ भनेर खोजी गर्दै जाँदा मान्छे नभेटिए पनि उहाँको नाम भेटियो । हेमकुमारी कट्टेल, शोभा बाराकोटीलगायत सबैको शब्दहरू खोजखाज पारेर मैले आफ्नो भाकामा, आफ्नो स्वरमा सजाएको हुँ । लोकगीत आत्माकाे लय हो । त्यो लय मैले भेट्टाएँ । 

पहिले र अहिले गाइने गीतमा के फरक पाउनुहुन्छ ?

पहिलेको समाज र अहिलेको समाजमा धेरै फरक छ । मानिसहरूको लवाइ–खवाइ, मनोरञ्जनलगायत विषय पहिलेभन्दा फरक भइसकेका छन् । अहिलेका मानिससँग हात–हातमा टेक्नोलोजी छ । मोबाइल, कम्प्युटर छन् । पहिलेका मान्छेका हात–हातमा कुटो–कोदालो हुन्थ्यो । उनीहरूलाई दुःख थियो । ढुंगामाथि बसेर गीत गाउनुपथ्र्यो । अहिलेका लोकगीत त्यहाँसम्म पुग्न गाह्रो छ । अहिलेको पुस्ताले त्यो यथार्थलाई बाहिर ल्याउन सक्तैन । त्यस्तो दुःख थियो भन्ने कुरासम्म पत्याउँदैन । रातारात हिट हुनका लागि गीतका शब्द चोर्ने गरेको देखिन्छ । शब्दलाई तोडमोड गरेर आफ्नो बनाएको पाइन्छ । यो विकृति हो । संस्कृति बचाउनेभन्दा पैसा कमाउनेतिर लागेको देखिन्छ । सबैमा नहोला, तर विकृतिचाहिँ छ । 

  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार १५:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया