logo-img

डा. पुकारचन्द्र श्रेष्ठ : अंग प्रत्यारोपणमा अब्बल, प्रशासन सञ्चालनमा असफल
तेस्रो कार्यकालमा पनि सुध्रिएन छवि, नियामक निकाय मौन

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । करिब दुई साता यतादेखि स्थानीयहरू कालोब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि आन्दोलनलाई निरन्तरता दिनुपरेको उनीहरूको भनाइ छ ।

को हुन् विवादित डा. श्रेष्ठ ?

बाग्लुङमा जन्मिएका डा. पुकारचन्द्र श्रेष्ठ अहिले नेपालको एक अब्बल ट्रान्सप्लान्ट सर्जनका रूपमा परिचित छन् । उनी हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक हुन् । डा. श्रेष्ठ एमबिबिएस र एमएस तहको अध्ययनपछि बेलायत गए । त्यहाँ डा. श्रेष्ठले रोयल कलेज अफ इडिनबराबाट सन् २००३ मा एमआरसिएस तहको अध्ययन पूरा गरे । उनले सन् २००२ देखि २००८ सम्म बेलायत सरकारको न्यासनल हेल्थ सर्भिस अन्तर्गत रहेर काम गरेका थिए । त्यसैक्रममा उनले बेलायतको फ्री म्यान अस्पतालमा सिनियर रजिष्ट्रारको रूपमा पनि काम गरे थिए ।

बेलायतमा करिब ६ वर्ष बिताइसकेपछि डा. श्रेष्ठ २००८ मै स्वदेश फर्किए । मिर्गौला, कलेजो र प्यान्क्रियाज प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएका उनले अन्य चिकित्सकहरूको समन्वयमा सन् २००८ को डिसेम्बरमा वीर अस्पतालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरेका थिए । वीर अस्पतालमा काम गरिरहेका उनलाई २०६८ सालमा स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको नवनिर्मित भवनमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनको जिम्मा दियो । तत्कालीन स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले उक्त जिम्मेवारी दिएपछि उनले त्यहाँ काम त थाले ।

मन्त्रालयले केन्द्रलाई अघि बढाउन डा. पुकारलाई फोकल पर्सन बनाएको तीन महिनामा उनको समूहले संस्था सञ्चालनका लागि विधान बनायो । अन्ततः सरकारले ११ वैशाख २०६९ मा गठन आदेश जारी गरेपछि मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भयो । हाल केन्द्रका कार्यकारी निर्देशकका रूपमा डा. श्रेष्ठ तेस्रो कार्यकालमा छन् । डा. श्रेष्ठ नेपाल स्वास्थ्य सेवाका १०औँ तहका चिकित्सक हुन् । उनको दरबन्दी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा हो । सरकारले डा. श्रेष्ठलाई काजसरुवा गरी केन्द्रको कार्यकारी निर्देशक बनाएर पठाएको थियो ।



यसअघिका डा. पुकारका दुई कार्यकाल विवादमै बिते । तेस्रोपटक केन्द्रको निर्देशक हुँदा पनि उनी विवादमुक्त हुन सकेका छैनन् । उनीमाथि सुरुका दुई कार्यकालमा विभिन्न आरोप लागेका थिए । जसमध्ये उनले कर्मचारीहरूलाई शोषण गरेको आरोप लागेको थियो । दुई कार्यकाल नै विवाद र अनियमिततामा मुछिएका डा. पुकारलाई सरकारले कारबाही नगरी निर्देशक बनाएपछि केन्द्रका कर्मचारी समेत सरकारसँग रुष्ट भएका थिए । 

केन्द्रको दुई कार्यकाल निर्देशक हुँदा संस्थागत हितभन्दा पनि आफ्नो निजी अस्पताल निदानमा बिरामीलाई प्रयोगशाला परीक्षणमा पठाउने काम गर्दै आएका डा. श्रेष्ठलाई पुनः निर्देशक बनाइँदा त्यहाँ कार्यरत केही कर्मचारीले आन्दोलन नै गरेका थिए । डा. पुकारले अस्पतालमा नर्सहरूलाई धम्की दिने गरेको भन्दै अस्पतालमा नर्सहरूले लामो समयसम्म आन्दोलन गरेका थिए । यहाँसम्म कि अस्पतालभित्रै नर्सहरूले आमरण अनशनसमेत बसेका थिए । नर्सहरूले डा. पुकारले अन्याय गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी दिएपछि छानबिन समिति बनेको थियो ।



प्रत्यारोपण केन्द्रका निर्देशकका रूपमा डा. पुकारले गलत काम गरेको निष्कर्ष निकाल्दै मन्त्रालयले नै उनलाई कारबाही सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयका तत्कालीन चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले डा. पुकारलाई कारबाही सिफारिस गरेको थियो । तर, के कति कारणले उक्त कारबाही रोकिएको हो, यसबारे अझैसम्म कसैले एक शब्द बोलेका छैनन् । 

डा. भोलाराम श्रेष्ठको समितिले डा. पुकारले कर्मचारीहरूमाथि अन्याय गरेको, कर्मचारी नियुक्ति प्रक्रिया नियम अनुसार नगरेको, अस्पतालमा नर्सहरूले गरिरहेको आन्दोलन र कर्मचारीको समस्या समाधान गर्न नसकेको लगायतका समस्या देखाउँदै कारबाहीको सिफारिस गरेको थियो ।

उनी विवादमा पर्ने प्रकरण यतिमै सीमित रहेन । डा. पुकार निर्देशकका रूपमा कार्यरत रहेको समयमा उपकरण खरिदमा समेत करोडौँ अनियमितता भएको प्रतिवेदन समेत सार्वजनिक भएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले केन्द्रमा विभिन्न १६ प्रकारका उपकरण तथा मेसिनहरूको खरिदमा १३ करोड ६६ लाख २४ हजार रुपैयाँ अनियमितता भएको देखाएको थियो ।

महालेखाको प्रतिवेदनमा सार्वजनिक खरिद नियमावली विपरीत केन्द्रले आफूअनुकूल मेडिकल उपकरण तथा मेसिनरी सामग्री खरिद गरेको उल्लेख छ । केन्द्रले प्राविधिक समितिले तोकेको स्पेसिफिकेसन नमिलेका र प्राविधिक जाँचका क्रममा खरिद गर्न नमिल्ने भनिएका उपकरणसमेत खरिद गरेको उल्लेख गरेको थियो ।

डा. पुकारमाथि आरोपका चाङ, किन हुँदैन छानबिन ?

तीन कार्यकालसम्म आइपुग्दा पनि डा. श्रेष्ठ विवादमुक्त छवि बनाउन पूर्ण रूपमा असफल भइसकेका छन् । तर, डा. पुकारमाथि आरोप तथा विवादका चाङ थुप्रिरहँदा सम्बन्धित निकायहरूले भने कुनै ठोस कदम चालेको देखिँदैन । आखिर के कति कारणले विवादास्पद व्यक्तिलाई छानबिनको घेराभित्र ल्याउन नसकेका होलान् सम्बन्धित निकायहरूले ? यस प्रश्नको जवाफ खोतल्ने धेरैको प्रयास हालसम्म असफल देखिन्छ । 

स्थानीयबासीहरूले डा. पुकारविरुद्ध विभिन्न निकायमा लिखित तथा मौखिक रूपमा ज्ञापनपत्र बुझाइसकेका छन् । उनीहरूले गत शुक्रबार पनि मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएका थिए । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि ज्ञापनपत्र बुझाइसकेका छन् । यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीहरूले उजुरी दिइसकेका छन् । यीमध्ये कुनै पनि निकायले हालसम्म ठोस कदम नचालेको स्थानीय बताइरहेका छन् । 

स्थानीयबासीले बुझाएको ज्ञापनपत्रमा आन्तरिक रूपमा छलफल तथा समाधानको बाटो खोजिरहेको बताउँछन्, जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी डोरेन्द्र निरौला । ‘केन्द्रको आन्तरिक काम मन नपरेर भक्तपुर जिल्ला प्रशासनमा एउटा ज्ञापनपत्र त दिनुभएको छ । केन्द्र वैधानिक रूपमा चलिरहेको संस्था हो । त्यसकारणले तत्कालै अब हामीले गर्न सक्ने केही छैन,’ सूचना अधिकारी निरौला भन्छन्, ‘केही कुरा सच्याउन, थप्नुपर्ने छ भन्ने छ । हाम्रो आन्तरिक रूपमा स्थानीयसँग छलफल भइरहेको छ । तर, हामीले प्रत्यक्ष रूपमा गर्न सक्ने केही पनि होइन र हामीलाई त्यो अधिकार पनि छैन ।’

उनी थप्छन्, ‘सबैको सबै माग पूरा हुँदैनन्, सबैका सबै मागपनि जायज हुँदैनन् । त्यो कुरा बुझ्नुपर्छ । कतिपय कुरा नियमन निकायले हेरिरहेको हुन्छ । केन्द्रमा अहिलेको समस्या देखिएको भने स्थान अभाव हो । केन्द्रले सेवा सुविधा सम्पन्न रूपमा दिनका लागि स्थान हुन आवश्यक छ ।’ सरसर्ती हेर्दा अहिले केन्द्रको प्रमुख समस्या भनेको भवन अभाव रहेको उनी औँल्याउँछन् । 

मन्त्रालयले पनि स्थानीयबासीले दिएको ज्ञापनपत्रका बारेमा आन्तरिक रूपमा काम गरिरहेको जनाएको छ । केन्द्रमा भइरहेको अनियमितताविरुद्ध आन्दोलन थालेको दुई साताभन्दा बढी भइसकेको छ । यसबीचमा उनीहरूले पटक–पटक मन्त्रालय धाइसकेका छन् । तर, प्रतिफल भने हात लागेको छैन । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी स्थानीयवासीका जायज माग पूरा गर्न मन्त्रालय लागिरहेको बताउँछन् । ‘उहाँहरूका जायज माग पूरा गर्ने तरिकाले मन्त्रालयले काम अघि बढाएको छ । उहाँहरूको गुनासोका बारेमा पनि मन्त्रालयले आन्तरिक रूपमा छानबिन गर्ने जमर्को गरेको छ,’ डा. बुढाथाेकी भन्छन् । 

जहाँ–जहाँ स्थानीयहरूले ज्ञापनपत्र तथा उजुरी दिएका छन्, ती निकायले स्थानीयका सबै माग जायज नरहेको समेत जनाएका छन् । र, आन्तरिक रूपमा समाधानको बाटो खोजिरहेको बताइरहेका छन् । सम्बन्धित निकायले दिने जवाफ भने स्थानीय चित्तबुझ्दो नरहेको बताउँछन् । 

तर, कार्यकारी निर्देशक डा. श्रेष्ठ भने संस्थालाई बदनाम गराउनको लागि अराजक समूह लागिपरेको बताउँछन् । ‘स्थानीयबासीको जुन आन्दोलन छ, त्यो हावादारी हो । उनीहरूले कुनै एक अराजक समूहबाट पैसा खाएर संस्थालाई बदनाम गरिरहेका छन्,’ निर्देशक डा. श्रेष्ठ भन्छन्, ‘हामीले एकजना चिकित्सकलाई निकालेका थियौँ । कारण, ती चिकित्सकले अह्राएको काम नगर्ने, आफ्नो जिम्मेवारी बहन नगर्ने, अस्पतालमा अराजकता फैलाउने र स्टाफहरूलाई भाँड्ने काम गरे । उनकै पछि लागेर स्थानीयहरूले विरोध गरेका हुन् ।’

स्थानीयहरू भने सम्बन्धित निकायले कारबाहीका लागि कदम नचाल्नुका पछाडि डा. पुकारको पद र पैसा रहेको औँल्याएका छन् । उनीहरूका अनुसार उनलाई कारबाहीका दायरामा ल्याउन नसक्नुका कारणचाहिँ अनुमान गर्न सकिन्छ, डा. पुकार पूर्वप्रधानन्यायधीश कल्याणकुमार श्रेष्ठका (सहोदर) भाइ हुन् । यही मात्र कारण नभएर अन्य थुप्रै कारण रहेको उनीहरूको भनाइ छ । 

  • प्रकाशित मिति : असोज ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया