बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्दार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन् ।
शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौं उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिए ।
‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भने,‘ मुलुकमा ठुलो विपद्को स्थिती आएको छ ।’
उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।
‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले भने,‘उद्दार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’
वर्षाका कारण काठमाडौं भित्रिने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । ‘विपद्बाट हुने क्षति न्युनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।’ उनले भने, ‘बाढी, पहिरो लगायत विपद् सम्बन्धी पूर्वसूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’
वस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाइ छ । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४सै घण्टा सक्रिय बनाइने बताए ।
‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्दारमा समेत समस्या भयो ।’ उनले भने, ‘स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार, सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकाेप्टरबाट नेपाली सेनाले निगरानी र उद्दार गर्ने गरी सुरक्षा निकाय परिचालन भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।